काठमाडौं । आज पनि देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ तथा विरोध प्रदर्शन जारी राखेका छन् । भन्सार एजेन्ट महासंघ नेपाल र भन्सार विभागबीच मंगलबारको वार्ता निश्कर्षबिहिन भएपछि भन्सार एजेन्टहरुले आन्दोलन जारी राखेका हुन् ।
महासंघ नेपाल र विभागबीच आज (बुधबार) पुनः वार्ता हुने भएको छ । मंगलबार भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र महासंघ प्रतिनिधिहरूबीच भएको छलफल कुनै सहमति बिना सकिएको थियो ।
भन्सार ऐन २०८२ प्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलनमा उत्रिँदा देशभर भन्सार जाँचपास प्रक्रिया अवरुद्ध बनेको छ । यसको असर राजस्व संकलन र व्यापार दुवैमा परेको छ ।
भर्खरै लागू भएको भन्सार ऐनका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, कामको सहजता र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत प्रभावित पर्ने स्थिति बनेपछि विरोध गर्नुपरेको महासंघका अध्यक्ष प्राचिनकुमार थैवले बताए ।
महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार विरोधस्वरूप आइतबार वीरगञ्ज र सोमबार भैरहवा भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएका थिए । मंगलबार देशभर ‘पेन डाउन’ भएको र आज पनि यो आन्दोलन जारी रहने उनले बताए ।
महासंघले भन्सार ऐन २०८२ को मस्यौदा चरणमै विभिन्न पेशागत हकहितसँग सम्बन्धित सुझावहरू भन्सार विभाग, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायसमक्ष पेश गरेको थियो । तर हाल कार्यान्वयनमा आएको ऐनमा ती विषय समावेश नभएको महासंघको भनाइ छ ।
महासंघले भन्सार एजेन्टको नाम दर्ता, दण्ड-जरिवाना, इजाजतपत्र नवीकरण तथा निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीका ‘युजर आईडी’, ‘एक्जिट नोट’ र ‘इन्ट्री नोट’ व्यवस्था, र इजाजत प्राप्त एजेन्टमार्फत मात्र मालबस्तु जाँचपास गर्नुपर्ने प्रावधान ऐनमै राख्नुभएको माग गर्दै आएको थियो ।
तर, लागू गरिएको नयाँ ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको, वैध व्यापारलाई हतोत्साहित गरेको र तजबिजी अधिकार बढाएको महासंघको आरोप छ ।