गोवामा मृत्यु भएका पाँच नेपालीका शव नेपाल ल्याइँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा शनिबार राति भएको भीषण आगलागीमा ज्यान गुमाएका पाँच नेपालीको शव नेपाल ल्याउन लागिएको छ । दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा, सुदीप विश्वकर्मा र डडेलधुराका मनोज जोराको शव नेपाल ल्याउने तयारी भएको हो ।

गोवा प्रहरीले शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासले गोवा सरकारसँग समन्वय गर्दै शव ल्याउने कार्य अघि बढाइरहेको छ।

चुर्णबहादुर पुनको शव एयर एम्बुलेन्समार्फत् गोवाबाट लखनउ ल्याई त्यहाँबाट गाडीमार्फत दाङ पुर्‍याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। अन्य मृतकका शव पनि घरसम्मै पुर्‍याउन पहल जारी छ। यसका लागि भारतमा रहेका नेपालीहरूले समेत सहयोग गरिरहेका छन्।

शनिबार मध्यराति नाइट क्लबमा लागेको आगो ग्यास सिलिन्डर विष्फोटसँगै आगो लागेको थियो । साँघुरो बाटोका कारण दमकल समयमा नपुग्दा मानवीय क्षति बढेको अधिकारीहरूले बताएका छन्। धेरै मानिस भान्सातिर र भुइँतलामा थुनिँदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केहीको जलेर र केहीको धुँवामा निसासिएर मृत्यु भएको पुष्टि गरिएको छ।

अनुसन्धानमा नाइट क्लबले सुरक्षा मापदण्ड पालन नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको खुलेको छ। घटनापछि क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ भने नियमविपरीत अनुमति दिएको आरोपमा तीन जना वरिष्ठ सरकारी अधिकारी निलम्बनमा परेका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उक्त दुर्घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए।

सिफारिस