काठमाडौँ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा शनिबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर सुरु गरिएको कार्यक्रममा एमालेका हजारौँ नेता–कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङ, नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का महासचिव सुरेन्द्र झा, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत विपक्षी दलका शीर्ष नेताहरु उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा फरक राजनीतिक दलका नेताहरुले एमालेको महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रियाका रूपमा उल्लेख गर्दै सफलताको शुभकामना दिएका थिए। उनीहरुले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र समृद्धिको यात्रामा दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी ‘अजम्बरी’ रहेको दाबी गरे। उनले एमाले कमजोर नहुने र कुनै पनि परिस्थितिमा समाप्त नहुने पार्टी भएको बताए। ओलीले महाधिवेशनमार्फत पार्टीलाई अझ सुदृढ, एकताबद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।
ओलीले भने, “एमाले आज पनि देशको प्रमुख राजनीतिक शक्ति हो। चुनौतीका बीच पनि पार्टी आफ्नो बाटोमा अघि बढिरहेको छ।” उनले संगठन मजबुत बनाउँदै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका पक्षमा पार्टी दृढतापूर्वक उभिने बताए।
महाधिवेशन उद्घाटन समारोहमा एमाले महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्दै पार्टीमाथि विभिन्न ढंगले आरोप लगाउने प्रयास भएको उल्लेख गरे। उनले ठूलो सहभागिताले पार्टीप्रतिको जनसमर्थन र आत्मविश्वास प्रष्ट भएको दाबी गरे।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले आगामी कार्यदिशा, नेतृत्व चयन र सांगठनिक संरचनाबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।
भक्तपुरको सल्लाधारीस्थित खुल्ला मैदानमा उद्घाटन समारोह सम्पन्न गरिएता पनि भोलि बिहान ९ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्द सत्र सुरु गरिने बताइएको छ ।