काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। उपाधि प्रतिस्पर्धा हेर्न रंगशालामा दर्शकको उल्लेखनीय भीड देखिएको छ।
शनिबार दिउँसोदेखि नै किर्तिपुर क्षेत्र क्रिकेटप्रेमीले भरिएको छ। रंगशालाका अधिकांश सिट भरिएका छन् भने बाहिर समेत ठूलो संख्यामा समर्थकहरू भेला भएका छन्। ढोल, झण्डा, टिमको जर्सी र नाराबाजीले रंगशालाको वातावरण उत्सवमय बनेको छ।
आजै भक्तपुरमा नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ। देशकै प्रमुख राजनीतिक दलको महाधिवेशन भए पनि त्यहाँको उपस्थितिभन्दा किर्तिपुर क्रिकेट रंगशालामा दर्शकको चाप बढी देखिएको छ।
राजनीतिक कार्यक्रम औपचारिक र सीमित प्रतिनिधिमुखी देखिँदा किर्तिपुरमा भने सर्वसाधारण, युवा तथा परिवारसहितका दर्शकको उल्लेखनीय सहभागिता देखिएको हो । यसले नेपाली समाजमा खेलकुद, विशेषगरी क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट संकेत गरेको छ।
एनपीएलको छोटो अवधिमै लोकप्रियता बढ्नु, फ्रेन्चाइज टिमप्रतिको अपनत्व र राष्ट्रिय तथा विदेशी खेलाडीको सहभागिताले दर्शक तान्न सफल भएको देखिन्छ। सामाजिक सञ्जालमा समेत किर्तिपुर रंगशालाको भीडका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा भइरहेका छन्।\
