लुम्बिनी लायन्सले जित्यो ‘एनपीएल’ दोस्रो सिजनको उपाधी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमै पूरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम पाँच बल बाँकी रहँदै ८५ रनमै अलआउट भयो । लुम्बिनीका बलरहरूले कसीलो प्रदर्शन गर्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउन दिएनन् ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले आक्रामक सुरुआत गर्‍यो । पहिलो ओभरमै २७ रन जोड्ने क्रममा दिनेश अधिकारीले चार छक्का प्रहार गर्दै विस्फोटक ब्याटिङ गरे ।

यसै क्रममा लुम्बिनीले डार्सी सर्टको रूपमा पहिलो विकेट गुमायो । पाँचौँ ओभरको पहिलो बलमा हेमन्त धामीले सर्टलाई बोल्ड गर्दै पभेलियन फर्काए । सर्टले १३ बलमा १४ रन बनाए । त्यसपछि दिनेश अधिकारी पनि आउट भए । उनले १३ बलमा ४२ रनको शानदार पारी खेले ।

कप्तान रोहित पौडेलले १२ बलमा १६ रन जोडे भने निरोसन डिकवेलाले १२ बलमा ११ रन बनाए । सन्दीप जोराले तीन बल खेले पनि खाता खोल्न सकेनन् । दिलीप नाथ १ रनमा अविजित रहे ।

यसअघि बलिङतर्फ लुम्बिनीका खेलाडीहरू चम्किए । कप्तान रोहित पौडेलले ह्याट्रिकसहित ३ विकेट लिँदै १२ रन मात्र खर्चिए । शेर मल्लले ४ ओभरमा १८ रन दिँदै ३ विकेट लिए भने रुबेन ट्रम्पलमानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट झारे । लुम्बिनीको समग्र प्रदर्शनकै कारण टोलीले दोस्रो सिजनको एनपीएल उपाधि जित्न सफल भयो ।

सिफारिस