काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। आज बिहानदेखि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा उनीहरूले यस्तो घोषणा गरेका हुन्।
उपाध्यक्ष ज्ञवालीले बैठकमा धारणा राख्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको, नेतृत्व चयन प्रक्रिया औपचारिकतामा सीमित भएको र प्रतिस्पर्धाका नाममा सहमति थोपर्ने प्रवृत्ति बढेको टिप्पणी गरे । यस्तो अवस्थामा आफूहरू पदको प्रतिस्पर्धामा उत्रिनु उपयुक्त नहुने निष्कर्षमा पुगेको उनले बताए।
यस्तै, उपाध्यक्ष शाक्यले पार्टी नेतृत्व र सांगठनिक संरचनामा पुस्तान्तरण, समावेशिता र विधिसम्मत अभ्यास कमजोर हुँदै गएको उल्लेख गर्दै महाधिवेशनमार्फत यी विषयमा गम्भीर समीक्षा आवश्यक रहेको भन्दै उम्मेद्वारी नदिने बताएकी हुन् ।
नेतृत्वको दौडमा सहभागी हुनुभन्दा पार्टीको दीर्घकालीन हित र मूल्य–मान्यताको पक्षमा उभिनु आफ्नो प्राथमिकता भएको उनको भनाइ थियो।
पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनः दोहोरिने लगभग निश्चित जस्तै देखिएको र पदाधिकारी चयन प्रक्रिया प्रतिस्पर्धात्मकभन्दा बढी पूर्वनिर्धारित बन्दै गएको भन्दै ज्ञवाली र शाक्यले सैद्धान्तिक असहमति जनाउनका लागि प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको नेताहरूको बुझाइ छ।
यसअघि संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावप्रति उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले असहमति जनाएका थिए ।
पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाको पक्षमा रहने स्पष्ट संकेत दिएपछि उनीहरुले निरन्तर फरक मत राख्दै आएका थिए ।
वरिष्ठ नेताहरूको यो निर्णयलाई एमालेभित्र नेतृत्व शैली, शक्ति सन्तुलन र आन्तरिक लोकतन्त्रको बहसलाई पुनर्जीवित गर्ने सन्देशका रूपमा हेरिएको छ। महाधिवेशन नजिकिँदै गर्दा उनीहरूको कदमले पार्टीभित्र असन्तुष्ट धार र सुधारको आवाजलाई थप बल पुग्ने विश्लेषण गरिएको छ।