काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण, क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिकानगरकी कर्मचारी कल्पना थापाले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि (मतदाता)को रूपमा भाग लिएकी छन्।
थापा वरिष्ठ सहायक तथा सिनियर मिटर रिडर हुन्। महाधिवेशन उद्घाटन समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक भएपछि उनले सरकारी कर्मचारीका लागि तोकिएको नियम उल्लंघन गरेको पुष्टि भएको हो। कर्मचारी सेवा सर्त विनियमावलीको परिच्छेद १३, नियम १३० अनुसार कुनै पनि सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा संलग्न हुन वा निर्वाचनमा भाग लिन नपाउने ब्यवस्था छ ।
सरकारी कर्मचारीले राजनीतिक पदका लागि उम्मेदवारी दिन, मत माग्न वा राजनीतिक प्रचार–प्रसार गर्न पनि निषेध गरिएको छ।
वितरण केन्द्र बुटवलका प्रमुख हरि पाण्डेले थापालाई पार्टी राजनीतिमा संलग्न हुन चाहे जागिर छाड्न आग्रह गरिएको बताए । “सरकारी कर्मचारी सक्रिय रूपमा पार्टीको सदस्य बन्न वा राजनीति गर्न मिल्दैन, चाहना भए जागिर छाड्नुपर्छ,” पाण्डेले स्पष्ट पारेका छन्।
उनले यस विषयमा माथिल्लो निकायमा जानकारी गराए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन।
थापा नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गरेर निर्वाचित भएकी हुन्। १३ जनाबीचको प्रतिस्पर्धामा थापासँगै ज्ञानु केसी र विमला श्रेष्ठ पनि निर्वाचित भएका थिए । तर केही वरिष्ठ महिला नेतृहरू यस निर्वाचनमा पराजित भएकी थिइन्।
निर्वाचनमा सहभागी एक अग्रज महिला नेतृले केवल राजनीतिक सक्रियतामा लागेको इमानदार महिलाहरू पछि परिरहने र सरकारी जागिरका नियम उल्लंघन गर्दै राजनीति गर्नेहरूलाई पार्टी नेतृत्वले प्रोत्साहन दिनु गलत भएको बताइन् ।
यस घटनाले सरकारी कर्मचारीको राजनीतिक संलग्नता, नियमको कार्यान्वयन र सम्बन्धित निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।