काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्द सत्र केहीबेर अघि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको बन्द सत्रमा पार्टीको भावी नेतृत्व, नीति तथा संगठनात्मक संरचनाबारे छलफल भइरहेको छ।
बिहानैदेखि पार्टीको केन्द्रिय समिति बैठक बसेका कारण बन्द सत्र ढिलो सुरु भएको थियो । बन्द सत्र सुरु भएसँगै पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रम अघि बढाइएको छ।
बन्द सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव, सचिवहरू तथा केन्द्रीय समिति सदस्यहरूको उपस्थिति रहेको छ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू पनि बन्द सत्रमा सहभागी छन्।
बन्द सत्रमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान राष्ट्रिय राजनीति, सरकारको भूमिका, आगामी निर्वाचनको तयारी र पार्टी सुदृढीकरणका विषयमा धारणा राखेका छन्। त्यसैगरी अन्य नेताहरूले संगठनात्मक प्रतिवेदन र विधान संशोधनसम्बन्धी प्रस्तावहरू पेश गरेका छन्।
बन्द सत्रमा सहभागी नेताहरूले पार्टी एकता, अनुशासन, वैचारिक स्पष्टता र आगामी नेतृत्व चयन प्रक्रियालाई लोकतान्त्रिक र सर्वसम्मत ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। केही नेताहरूले नेतृत्व चयनका क्रममा समावेशिता र पुस्तान्तरणको विषय पनि उठाएका छन्।
प्रतिनिधिहरूबीच समूहगत छलफल, परामर्श र आन्तरिक संवाद चलिरहेका छन्। नेतृत्व चयनलाई लिएर नेताहरूबीच आन्तरिक छलफल तीव्र बनेको छ भने प्रतिनिधिहरूको चासो पनि उच्च देखिएको छ।
बन्दसत्र स्थल भृकुटीमण्डप वरपरको सुरक्षा व्यवस्था कडा व्यवस्था पारिएको छ। सञ्चारकर्मीहरूको प्रवेश सीमित गरिएको छ भने सत्र पूर्ण रूपमा आन्तरिक छलफलमा केन्द्रित रहेको छ।
एमालेले बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। नयाँ पदाधिकारी तथा केन्द्रीय समिति चयनसँगै महाधिवेशन समापनतर्फ जाने पार्टी स्रोतले जनाएको छ।