एमाले ११औँ महाधिवेशनः आज उम्मेद्वारी दर्ता, भोलि मतदान

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ सार्वजनिक गरेको मतदाताको अन्तिम नामावलीमाथि बिहान ९ बजेसम्म दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ ।

निर्वाचन आयोगका प्रमुख डा( विजय सुब्बाका अनुसार दाबी–विरोधको छानबिन आजै सम्पन्न गरी उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र भोलि मतदान गरिने तयारी छ । आयोगका अनुसार मतदाता नामावलीसम्बन्धी दाबी–विरोधको छानबिन बिहान १० बजेसम्म सकिनेछ भने १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

आयोगले सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी फारम वितरण गर्ने जनाएको छ । मतदाता नामावलीको दाबी–विरोधमाथि छानबिनसँगै उम्मेद्वारी फारम वितरण पनि निरन्तर हुने प्रमुख सुब्बाले बताए । उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्म हुने उनले जानकारी दिए ।

उम्मेद्वारको प्रारम्भिक नामावली दिउँसो २ः३० बजे प्रकाशन गरिने कार्यक्रम छ । त्यसपछि उम्मेद्वारविरुद्ध उजुरी दिन आधा घण्टाको समय तोकिएको छ ।

आयोगका अनुसार उजुरीमाथिको छानबिन १० मिनेटमै सम्पन्न गरी साँझ ६ बजे उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने बताइएको छ ।

शनिबारदेखि सुरु भएको महाधिवेशनमा कुल २,२६३ जना प्रतिनिधि सहभागी छन् ।