काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा कार्यरत दुई जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विवरण दर्ता अपरेटरका रूपमा कार्यरत महालक्ष्मी नगरपालिका–३, इमाडोल निवासी २८ वर्षीय सुनितप्रभाग रेग्मी र ललितपुर महानगरपालिका–१३ निवासी २८ वर्षीय आशिषबाबु कुमाल रहेका छन्।
सिआइबीका अनुसार सिंहदरबारस्थित विभागमा कार्यरत रहँदा उनीहरूले विवरण दर्ता अपरेटरको युजर आइडी र पासवर्ड दुरूपयोग गरी विभिन्न व्यक्तिहरूको व्यक्तिगत विवरण हेरफेर गरेर राष्ट्रिय परिचय पत्र बनाएको आरोप छ।
उनीहरूमाथि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ अन्तर्गत दफा ४१ अनुसार अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको हिरासत अनुमति लिइएको सिआइबीले जनाएको छ।