काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। नेतृत्व चयनका लागि आज मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ ।
नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा वली र ईश्वर पोखरेलले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । भृकुटीमण्डपमा जारी ११ औँ महाधिवेशनमा सोमबार दुवै नेताले अध्यक्ष पदका लागि आ–आफ्ना उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष पदमा दुई प्रभावशाली नेताबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि महाधिवेशन थप रोचक बनेको छ। ओली र पोखरेल दुवैले आ–आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन्। दुवै प्यानलमा उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिव पदका लागि अनुभवी र संगठनमा प्रभाव राख्ने नेताहरूलाई समेटिएको छ।
ओली प्यानलमा वर्तमान नेतृत्वका अधिकांश पदाधिकारी, प्रदेशस्तरमा संगठन बलियो बनाएका र सरकार तथा पार्टी सञ्चालनको अनुभव बोकेका नेताहरू समावेश छन्। लामो समयदेखि पार्टी नेतृत्वमा रहेका ओलीले स्थायित्व, अनुभव र संगठनात्मक निरन्तरताको सन्देश दिएर मत मागिरहेका छन्।
यता, पोखरेल प्यानलले संगठनात्मक सुधार, सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई जोड दिएको देखिन्छ। पोखरेल पक्षले पार्टीभित्र असन्तुष्ट समूह, परिवर्तन चाहने कार्यकर्ता तथा नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरेको छ।
प्रतिस्पर्धाको विश्लेषण गर्दा अध्यक्ष ओली संगठन, संसदीय राजनीति र कार्यकर्ता तहमा बलियो पकड भएका नेता मानिन्छन्। बहुसंख्यक जिल्ला प्रतिनिधि र वर्तमान संरचनामा उनको प्रभाव कायम रहेको देखिन्छ। यद्यपि, पोखरेल पनि अनुभवी नेता हुन् र पार्टीभित्र वैकल्पिक नेतृत्वको रूपमा स्थापित हुने प्रयासमा छन्।
महाधिवेशन प्रतिनिधिहरूको मतले अन्ततः एमालेको आगामी नेतृत्व, संगठनात्मक दिशा र आन्तरिक शक्ति सन्तुलन तय गर्नेछ। अध्यक्ष पदको यो प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको मात्र नभई एमालेको भावी राजनीतिक बाटोको निर्णयका रूपमा हेरिएको छ।
महाधिवेशनमा भोलि मंगलबार मतदान हुने कार्यतालिका रहेको छ।