
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत आज मतादान हुने भनिए पनि अहिलेसम्म मतादान प्रक्रिया सुरु हुन सकेको छैन। मतादान प्रकृया ढिलाइ भइरहँदा भृकुटीमण्डप क्षेत्र भने राजनीतिक माहोलले तातेको छ।
मतादान स्थल बाहिर विभिन्न समूहका कार्यकर्ताहरू आ–आफ्ना प्यानलका नेताहरूको पक्षमा प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्। दुई मुख्य समूहबीच प्रतिनिधिहरूलाई आकर्षित गर्ने प्रतिस्पर्धा चलिरहेको छ, जहाँ गीत–संगीत र नाराबाजी प्रमुख माध्यम बनेका छन्।
ओली पक्षधर कार्यकर्ताहरूले ‘पानीमुनी घुमाउने साँचो, यो देशमा ओलीको छ खाँचो’, पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात’ जस्ता लोक गीतमार्फत भोट मागिरहेका छन्।
मतादानस्थलमा कोही पञ्चे बाजाको तालमा नाचिरहेका देखिन्छन् भने केही कार्यकर्ताहरू पुराना झ्याउरे गीतमा मादल बजाउँदै नाचगानमा सहभागी भएका छन्।
भृकुटीमण्डपमा दुवै पक्षका कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिन्छ। गीत, नृत्य र नाराबाजीका कारण महाधिवेशन स्थल वरपर उत्सवजस्तै माहोल बनेको छ। मतादान कहिलेदेखि सुरु हुन्छ भन्ने प्रतीक्षामा प्रतिनिधिहरू रहेका बेला बाहिर भने भोट तान्ने प्रयास निरन्तर जारी छ।












