महेश बस्नेतको ज्याकेट लगाएर शोभा पाठक पुगिन् भृकुटीमण्डप, प्रहरीले गेटमै रोके

दियोपोस्ट संवाददाता

काठमाडौं । एमाले नेता महेश बस्नेतबाट अन्यायमा परेको भन्दै बस्नेतकै ज्याकेट लगाएर शोभा पाठक एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेकी छन् । कारबाही हुनु पर्ने ब्यक्तिलाई एमालेले महाधिवेशन उम्मेद्वार बनाएको भन्दै न्यायको माग गर्न उनी त्यहाँ पुगेकी हुन् ।

आफुले लगाएको ज्याकेट बस्नेतकै भएको दाबी गर्दै पाठकले बस्नेतबाट आफुमाथि भएको २ वर्ष अघिको अत्याचारको घटना सम्झाउन र न्याय माग्न आफु त्यहाँ पुगेको बताइन् ।

ज्याकेटको रहस्य खोतल्दै पाठकले भनिन्, ‘दुई वर्ष अघि रातको समयमा महेश बस्नेत ममाथि आक्रमण गर्न आयो । मेरो सुनको ब्रासलेट र मोवाइल लुट्यो । ममाथि गुण्डागर्दी शैलीमा आक्रमण प्रयास भयो । म ज्यान जोगाउन ‘सुत्दा’ लगाउने कपडामै प्रहरीकहाँ पुगेँ । प्रहरी चौकीमा म जाडोले काँपिरहेकी थिएँ । यो त्यही ज्याकेट हो, जुन बेला महेशले आफ्नो ज्याकेट खोलेर मलाई लगाइदिएको थियो ।’

उक्त ज्याकेट लगाएर मंगलबार उनी महाधिवेशन स्थलमा छिर्न खाजेकी थिइन् । त्यसबेला प्रहरी र एमालेका कार्यकर्ताले उनलाई भित्र छिर्न दिएनन् ।

अपराध गर्ने ब्यक्तिलाई एमालेले संरक्षण गरेको उनले आरोप लगाएकी छन् । केपी शर्मा ओलीको प्यानलबाट महेश बस्नेतलाई सचिव पदको उम्मेदवार बनाएकोप्रति पाठकले असन्तुष्टि जनाएकी छन्।

उनले आफूलाई अन्याय गर्ने व्यक्तिलाई पार्टीले उच्च पदको उम्मेदवार बनाएको भन्दै निरन्तर आवाज उठाइरहेको बताइन्।

उनका अनुसार, महिलामाथि हिंसा र यौन दुर्व्यवहारका आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाउनु गलत हो।

पाठकले आफू शोषणका विरुद्ध निरन्तर लडिरहने बताउँदै, बलात्कारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको व्यक्तिलाई उम्मेदवार बनाइएको विषयमा निर्वाचन आयोगमा उजुरी दिएको जानकारी दिइन्।

उनले केपी ओलीले महेश बस्नेतलाई संरक्षण दिँदै सचिव पदमा उम्मेदवार बनाएको आरोप समेत लगाइन्।

यसैबीच, महाधिवेशन स्थलमा एमाले नेता ऐन महरबाट बलात्कार पीडित भएको दाबी गर्ने बझाङकी रस्मिला धामी पनि पुगेकी थिइन्।

महरलाई तत्काल पक्राउ गर्न माग गर्दै उनी महाधिवेशन स्थलमा आएको बताइएको छ। धामीका अनुसार, केन्द्रीय साइबर ब्युरोबाट पक्राउ पुर्जी जारी भइसके पनि प्रहरीले महरलाई पक्राउ नगरेकोप्रति उनले असन्तुष्टि जनाइरहेकी छन्।

धामीले महर नेपाल प्रहरीको फरार सूचीमा रहेको भनिए पनि उनी महाधिवेशनमा उम्मेदवार बनेर भोट मागिरहेको आरोप लगाइन्।

उनले जुनसुकै हालतमा पनि महरलाई पक्राउ गर्न प्रहरीसँग हारगुहार गरिरहेकी थिइन्। महाधिवेशनका क्रममा देखिएका यी घटनाले एमालेभित्र र बाहिर महिला हिंसा र न्यायका विषयमा थप बहस सिर्जना गरेको छ।