एमाले महाधिवेशनः भृकुटीमण्डपमा रात्रीकालिन मतदानको तयारी

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज हुने भनिएको निर्वाचन निर्धारित समयमै सुरु हुन सकेन । बिहानदेखि मतदान हुने भनिए पनि यो समाचार तयार पार्दासम्म मतादान प्रक्रिया सुरु भएको छैन ।

निर्वाचन आयोगका अनुसार मंगलबार बेलुकी ७ बजेदेखि रातको २ बजेसम्म मतदान गर्ने तयारी भइरहेको छ । यसका लागि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्र बनाइएको छ ।

एक पदमा धेरै उम्मेदवार रहेकाले प्रत्येक मेसिनमा विवरण इन्ट्री, परीक्षण (टेस्ट भोट) र प्रमाणीकरण गर्न समय लागेको व्यवस्थापन पक्ष बताएको छ । साथै प्रतिनिधिहरूको नामावली अन्तिमरूप दिन र मतदान केन्द्र व्यवस्थापन मिलाउन पनि समय लागेको जनाइएको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरू दिनभर मतदानको प्रतीक्षामा छन् । मतदान केन्द्रहरूमा मेसिन जडान, सुरक्षाकर्मी परिचालन, स्वयंसेवक परिचालन तथा निर्वाचन आयोगको टोली सक्रिय रहेको छ ।

प्रतिनिधिहरू समूह–समूहमा छलफलमा व्यस्त छन् भने विभिन्न प्यानलका उम्मेदवार तथा समर्थकहरू आ आफ्नो पक्षमा मत मागिरहेका छन् ।

उक्त निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरेर मतदान गरिने निर्वाचन आयोगले जनाएको छ । कुल २ हजारभन्दा बढी प्रतिनिधिले केन्द्रीय समिति, पदाधिकारी तथा अन्य विभिन्न पदका लागि मतदान गर्नेछन् ।

एक प्रतिनिधिले धेरै पदमा मत हाल्नुपर्ने भएकाले एक जनाको मतदानमै केही समय लाग्ने आँकलन गरिएको छ । यही कारण राति ढिलोसम्म मतदान प्रकृया लम्बिने बताइएको छ ।

निर्वाचन ढिलाइ भएकाले मतगणना पनि आजै राति वा भोलि बिहानसम्म लम्बिन सक्ने अनुमान गरिएको छ । सबै पदको अन्तिम नतिजा सार्वजनिक हुन कम्तीमा एक दिन लाग्न सक्ने बताइएको छ ।