एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली-पोखरेलबीच कडा प्रतिस्पर्धा

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मंगलबार राति अबेरसम्म मतदान हुने भनिए पनि विभिन्न प्राविधिक कारणले प्रक्रिया बुधबार बिहानदेखि मात्र अघि बढाइएको हो ।

यसअघि मंगलबार बिहान १० बजे मतदान सुरु गर्ने प्रारम्भिक कार्यतालिका बनाइएको थियो । तर समय पटक–पटक सर्दै राति ९ बजेसम्म तय गरिएको थियो ।

विद्युतीय प्रणालीसम्बन्धी समस्या देखिएपछि अन्ततः मतदान आज बिहानका लागि सारिएको हो । ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २ सय ६३ जना प्रतिनिधि भृकुटीमण्डपमा सहभागी भएका छन् । तीमध्ये केही पदाधिकारी भने निर्विरोध चयन भइसकेका छन् ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ । एक जना प्रतिनिधिले मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने अनुमान गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदान गर्ने व्यवस्था मिलाएको छ । महिला र पुरुष प्रतिनिधिका लागि एउटै लाइन राखिएको छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ । दुवै नेताले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदका ५ सिटका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।

त्यस्तै, ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।