
काठमाडौँ । नेकपा एमालेको काठमाडौंमा जारी ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानको समय तीन घण्टा थप गरिएको छ । बिहान करिब साढे ९ बजेदेखि सुरु भएको मतदान समयमै सकिने अवस्था नदेखिएपछि केन्द्रीय निर्वाचन आयोगले समय थप गर्ने निर्णय गरेको हो ।
यसअघि मतदान केन्द्रभित्र प्रवेश गर्नुपर्ने समय साँझ ५ बजेसम्म तोकिएको थियो । अब सो समय थप गरी राति ८ बजेसम्म कायम गरिएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म कुल ७५२ मत खसिसकेको छ । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार एक प्रतिनिधिले मतदान गर्न औसतमा ३० मिनेट समय लिएको छ भने केहीले दुई घण्टासम्म पनि लगाएका छन् । मतदानका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोगमा ल्याइएको छ ।
महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् । पार्टीले राति १० बजेसम्म मतदान सक्ने लक्ष्य राखे पनि हालको गतिलाई हेर्दा तोकिएको समयमै मतदान सम्पन्न हुनेमा शंका देखिएको छ ।