बिशेष जहाज मार्फत कतार उडे खगेन्द्र र पवनकली

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल सरकारले उपहारस्वरूप प्रदान गरेका दुई हात्ती ‘खगेन्द्र’ र ‘पवनकली’ कतार प्रस्थान गरेका छन् । कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजबाट बुधबार दिउँसो ५ बजेपछि ती दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका हुन् ।

हात्ती खगेन्द्र र पवनकलीलाई मंगलबार नै चितवनबाट भैरहवा ल्याइएको थियो । यसअघि बिहान मौसम खराब भएपछि उक्त जहाज भारतको कोलकाता डाइभर्ट गरिएको थियो ।

भैरहवाबाट उडान भरेको करिब चार घण्टामा जहाज कतार पुग्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।