महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आज पनि एमाले महाधिवेशनस्थलमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एमाले नेता महेश बस्नेतबाट बलात्कृत भएको दाबी गर्ने शोभा पाठक आज पनि एमाले महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेकी छन् । बस्नेतलाई कारवाहीको माग गर्दै उनी त्यहाँ पुगेकी हुन् ।

कारबाही गर्नु पर्ने ब्यक्तिलाई एमालेले प्रोत्साहन गर्दै सचिब पदमा उम्मेद्वारी दिएको भन्दै उनले निरन्तर असन्तुष्टि जनाइरहेकी छन् । उनले भनेकी छन्, ‘अपराध गर्ने ब्यक्तिलाई एमालेले संरक्षण गरेको छ । केपी ओली प्यानलबाट महेश बस्नेतलाई सचिव पदमा उम्मेदवार बनाएको छ । यो गलत हो ।’

उनले आफूलाई अन्याय गर्ने व्यक्तिलाई पार्टीले उच्च पदको उम्मेदवार बनाएको भन्दै निरन्तर आवाज उठाइरहेको बताइन्।

उनका अनुसार, महिलामाथि हिंसा र यौन दुर्व्यवहारका आरोप लागेका व्यक्तिलाई उम्मेदवार बनाउनु गलत हो।

पाठकले आफू शोषणका विरुद्ध निरन्तर लडिरहने बताउँदै, बलात्कारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको व्यक्तिलाई उम्मेदवार बनाइएको विषयमा निर्वाचन आयोगमा उजुरी दिएको जानकारी दिइन्।

उनले केपी ओलीले महेश बस्नेतलाई संरक्षण दिँदै सचिव पदमा उम्मेदवार बनाएको आरोप समेत लगाइन्। ‘म शोभा पाठकलाई न्याय दे ! फौजदारी अभियोग बलात्कार भूर्ण हत्या, डाँकाचोरी अपराधीलाई कारबाही गर !’ जस्ता नारा लेखेर प्रदर्शन गरेकी थिइन् ।

यसैबीच, महाधिवेशन स्थलमा एमाले नेता ऐन महरबाट बलात्कार पीडित भएको दाबी गर्ने बझाङकी रस्मिला धामी पनि पुगेकी थिइन्।

महरलाई तत्काल पक्राउ गर्न माग गर्दै उनी महाधिवेशन स्थलमा आएको बताइएको छ। धामीका अनुसार, केन्द्रीय साइबर ब्युरोबाट पक्राउ पुर्जी जारी भइसके पनि प्रहरीले महरलाई पक्राउ नगरेकोप्रति उनले असन्तुष्टि जनाइरहेकी छन्।

धामीले महर नेपाल प्रहरीको फरार सूचीमा रहेको भनिए पनि उनी महाधिवेशनमा उम्मेदवार बनेर भोट मागिरहेको आरोप लगाइन्।

उनले जुनसुकै हालतमा पनि महरलाई पक्राउ गर्न प्रहरीसँग हारगुहार गरिरहेकी थिइन्। महाधिवेशनका क्रममा देखिएका यी घटनाले एमालेभित्र र बाहिर महिला हिंसा र न्यायका विषयमा थप बहस सिर्जना गरेको छ।

सिफारिस