जेन-जी आन्दोलन छानबिन आयोगले केपी ओली र रमेश लेखकलाई बयानका लागि बोलाउदैँ

दियोपोस्ट संवाददाता

काठमाडौं । जेन–जी आन्दोलन छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि ओली र लेखकलाई अर्को साता बयानका लागि बोलाउने भएको हो ।

आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटका क्रममा राजनीतिक दलका शीर्ष नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको जानकारी दिएको थियो ।

सो अवसरमा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित सम्बन्धित सबै व्यक्तिलाई बयानका लागि बोलाइने स्पष्ट पारे।

बयान लिने प्रक्रिया जारी रहेको र सोही क्रममा प्रधानमन्त्री र गृहमन्त्री सबैलाई बयानका लागि बोलाने उनले बताए ।

ओली र लेखकलाई अर्को हप्ता नै बोलाउने तयारी भएको उनले जानकारी दिए । आयोगको म्याद समाप्त हुनै लाग्दा बयान तथा अनुसन्धानका काम अझै नसकिएकाले सरकारले एक महिना म्याद थप गरिदिन आयोगले आग्रह गरेको छ।