
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीमाथि शारीरिक वा मानसिक यातना नदिन कडाइका साथ निर्देशन दिएको छ।
महानगरको शिक्षा विभागले जारी गरेको विज्ञप्तीअनुसार केही विद्यालयमा विद्यार्थीको कपाल लामो भएको वा विद्यालयको आचारसंहिताको नाममा जबरजस्ती कपाल काट्ने, दुर्व्यवहार गर्ने तथा मानसिक दबाब दिने गतिविधिका गुनासा प्राप्त भएका छन्। यस्ता क्रियाकलापले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको भन्दै महानगरले गम्भीर ध्यानाकर्षण गराएको हो।
विज्ञप्तीमा शिक्षा नियमावली, २०५९ को नियम २५(घ) अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नुपर्ने व्यवस्था रहेको र नियम १३३(१) (घ) अनुसार विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नपाइने स्पष्ट पारेको छ।
महानगरपालिकाले विद्यालयहरूलाई मानवअधिकार, सम्मान र मानसिक स्वास्थ्यको ख्याल गर्दै कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना नदिई आचारसंहिता पालन गराउन आग्रह गरेको छ। साथै, यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाही हुन सक्ने चेतावनी समेत दिएको छ।
उक्त सूचना काठमाडौँ महानगरपालिकाको वेबसाइटमा समेत अपलोड गरिएको जनाइएको छ।
