
काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गरिएको निर्वाचन प्रक्रिया आज बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मात्र मतदान गरेका छन् ।
निर्वाचनमा३६ जना प्रतिनिधिले मतदान नगरेको पुष्टि भएको छ । निर्वाचन समितिका अनुसार मतदान प्रतिशत ९८.४ रहेको छ । ३६ जना प्रतिनिधिको अनुपस्थितिका कारण १०० प्रतिशत मतदान हुन सकेन ।
महाधिवेशन स्रोतका अनुसार मतदान नगर्ने ३६ प्रतिनिधि मतदानस्थलमा समयमै उपस्थित हुन नसकेको, केही स्वास्थ्य तथा व्यक्तिगत कारणले अनुपस्थित भएको र केहीले उपस्थित भएर पनि मतदान प्रक्रियामै सहभागीता नजनाएको बताइएको छ ।
एमाले केन्द्रीय सदस्यका उम्मेदवारी दिएका राजेन्द्र अर्यालले आफैंलाइ भोट हालेनन् । प्रेस चौतारीका पूर्वअध्यक्ष समेत रहेका अर्यालले ‘नो भोटको समुपयोग’ भन्दै मतदान नगरेको बताएका छन् ।
यसपटक एमालेले विद्युतीय मतदान प्रणाली प्रयोग गरेको थियो । निर्वाचनमा संलग्न स्रोतहरूका अनुसार केही प्रतिनिधिले मतदान मेसिन प्रयोग गर्न कठिनाइ भोगेका कारण पनि मतदानमा सहभागी नभएका हुन् ।
लामो समय लाइनमा बस्नुपर्ने अवस्था, प्राविधिक असहजता र समय व्यवस्थापनको समस्या देखिएको बताइन्छ ।
मतदान नगर्ने प्रतिनिधिहरूको नामावली सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ । उक्त सूचीमा केन्द्रीय सदस्यदेखि अन्य तहका प्रतिनिधिहरू रहेका छन् ।
निर्वाचन समितिले ३६ जनाले मतदान नगरे पनि निर्वाचन प्रक्रिया पूर्ण रूपमा वैध र विश्वसनीय रहेको स्पष्ट पारेको छ । पार्टी विधानअनुसार सबै प्रतिनिधिको सहभागिता अनिवार्य नभएको र सहभागी मतदाताको आधारमा निर्वाचन परिणाम मान्य हुने व्यवस्था रहेको छ ।
यद्यपी, ९८.४ प्रतिशत मत खस्नु नेपाली राजनीतिक दलहरूको महाधिवेशनको सन्दर्भमा उल्लेखनीय सहभागिता मानिएको छ ।