अध्यक्ष पदमा पराजित भएका इश्वर पोखरेलले दिए विजयी टिमलाई बधाइ

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका वरिष्ठ नेता इश्वर पोखरेलले भावुक सन्देशमार्फत सम्पूर्ण विजयी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्। पोखरेलले फेसबुकमार्फत स्टाटस लेख्दै शुभकामना दिएका हुन् ।

उनले मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी तथा केन्द्रीय सदस्यहरूको सफल कार्यकालको कामना गर्दै पार्टीलाई अझ सशक्त बनाउने दिशामा नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्।

पोखरेलले महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै, आफू अध्यक्ष पदमा विजयी हुन नसके पनि आफ्नो उम्मेदवारीप्रति विश्वास गर्दै मत प्रदान गर्ने प्रतिनिधि मतदाताहरूप्रति हार्दिक आभार प्रकट गरेका छन्।

पोखरेलले महाधिवेशनका क्रममा उठाइएका जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, तथा ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तजस्ता विषयहरूले आगामी दिनमा निरन्तर बहस र छलफल पाउने विश्वास व्यक्त गरेका छन्।

अध्यक्ष पदमा पराजय भए पनि एमालेको देशभक्तिपूर्ण, लोकतान्त्रिक तथा समाजवादको आधार निर्माण गर्ने अभियानमा आफ्नो सहभागिता अटूट रहने उल्लेख गर्दै उनले निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

पोखरेल केपी शर्मा ओलीबाट १ हजार ९९ मतान्तरले पराजित भएका थिए ।