
काठमाडौं । नेकपा (एमाले)को अध्यक्ष पदमा पुनः निर्वाचित भएपछि केपी शर्मा ओली भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगेका छन्। मतपरिणाम सार्वजनिक भएलगत्तै ओली महाधिवेशनस्थल पुगेका हुन्।
महाधिवेशनस्थल प्रवेश गर्दा ओली मुस्कानसहित देखा परेका थिए। उनलाई स्वागत गर्न नेता तथा कार्यकर्ताहरूको ठूलो भीड उपस्थित थियो। समर्थकहरूले नाराबाजी, ताली र झण्डासहित ओलीको स्वागत गरेका थिए। महाधिवेशनस्थलको वातावरण उत्साहपूर्ण देखिन्थ्यो।
अध्यक्ष चयनपछि महाधिवेशनको औपचारिक कार्यसूचीअनुसार अब बन्दसत्रमार्फत पार्टीका अन्य पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयन प्रक्रिया अघि बढाइनेछ। बन्दसत्रमा संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रस्ताव र आगामी कार्यदिशाबारे छलफल हुने पार्टी स्रोतले जनाएको छ।
यसैगरी नवनिर्वाचित अध्यक्ष ओलीले प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ। महाधिवेशन समापन कार्यक्रम आजै सम्पन्न गर्ने तयारी गरिएको छ।
अध्यक्षमा ओलीको विजयसँगै महाधिवेशनस्थल र आसपासको क्षेत्रमा विजय उत्सवको माहोल देखिएको छ। विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूले बाजागाजा, नाराबाजी र आपसी बधाई साटासाट गर्दै उत्सव मनाइरहेका छन्।
पार्टीले औपचारिक रूपमा विजय उत्सव मनाउने कार्यक्रम पनि तय गर्ने तयारी गरेको बताइएको छ। सुरक्षा व्यवस्थासहित कार्यक्रम स्थलमा व्यवस्थापन चुस्त बनाइएको आयोजकले जनाएको छ।
महाधिवेशन नेतृत्व चयनसँगै पार्टीलाई आगामी निर्वाचन र संगठन विस्तारतर्फ केन्द्रित गर्ने रणनीतिसहित अघि बढ्ने अपेक्षा गरिएको छ।