एमाले ११औँ महाधिवेशनका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई ‘सपथ’ खुवाउने तयारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउने र प्रमाणपत्र वितरण गर्ने कार्यक्रमको तयारी भइरहेको छ।

महाधिवेशन निर्वाचन आगोगका अनुसार पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै औपचारिक जिम्मेवारी हस्तान्तरणका लागि सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्न लागिएको हो।

एमालेको विधानअनुसार महाधिवेशनबाट कुल ३०१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यसमा पदाधिकारीबाहेक खुला, समावेशी तथा विभिन्न कोटाबाट निर्वाचित सदस्यहरू समावेश छन्।

सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमपछि नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकले पार्टीको आन्तरिक संरचना, जिम्मेवारी बाँडफाँट, विभाग गठन तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने बताइएको छ।

पार्टी स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकपछि आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण र सरकार तथा संसद्को भूमिकाबारे स्पष्ट रणनीति तय गर्ने कार्यक्रम रहेको छ।

एमाले नेतृत्वले महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सशक्त बनाएको दाबी गर्दै नवनिर्वाचित नेतृत्वले जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्ने विश्वास व्यक्त गरेको छ।