काठमाडौं । दुबई अदालतबाट मृत्युदण्डको फैसला सुनाइएका दार्चुलाका अमरबहादुर बमको जीवनरक्षाका लागि ‘अमरबहादुर बम बचाउ अभियान’ सुरु गरिएको छ। नेपाल सरकारको ध्यानाकर्षण गराउँदै बमको रिहाइका लागि कूटनीतिक पहल गर्न दबाब दिने उद्देश्यले देशव्यापी अभियान सुरु गरिएको हो।
अभियानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरि पहिलो चरणका संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ । दुबईको जेलमा २२ वर्षदेखि मृत्युदण्डको सजाय कुर्दै बाँचिरहेका एक निर्दोष नेपाली नागरिकको जीवनरक्षा राज्यको संवैधानिक र नैतिक दायित्व भएको भन्दै सरकारको ध्यानाकर्षणका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको अभियान आयोजकले बताए ।
अभियानले सार्वजनिक गरेको पहिलो चरणको कार्यक्रमअनुसार पुस ११ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ। पुस १२ गतेदेखि सामाजिक सञ्जालमा ‘सरकार, निर्दोष अमरलाई बचाउ’ भन्ने सन्देशसहित फोटो अभियान सञ्चालन गरिने बताइएको छ।
त्यस्तै, पुस १४ गते सम्बन्धित दूतावासलाई पत्र बुझाइने कार्यक्रम रहेको र पुस १६ गते प्रधानमन्त्रीलाई ह्यासट्याग गर्दै सामाजिक सञ्जाल अभियान चलाइनुका साथै पुस १७ गते प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई एसएमएस पठाइने कार्यक्रम तय गएिको छ ।
सोही अनुसार पुस २० गते हस्ताक्षर अभियान सञ्चालन गरिने र पुस २२ गते संकलित हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाइने अभियानले जनाएको छ।
पत्रकार सम्मेलनमा अभियानका प्रतिनिधिहरूले अमरबहादुर बम कुनै अपराधी नभई रोजगारीका लागि विदेश पुगेका एक गरिब नेपाली नागरिक भएको दाबी गरे।
भाषा नबुझ्ने अवस्था, कानुनी सहायताको अभाव र यातनाका कारण बमलाई मतियारको अभियोग लगाई मृत्युदण्डको फैसला सुनाइएको बताइएको छ । यही मुद्दाका मुख्य अभियुक्तहरूले अदालतमा लिखित रूपमा अमर निर्दोष रहेको स्वीकार गरिसकेको भए पनि उनी अझै मृत्युदण्डको पर्खाइमा रहनु गम्भीर अन्याय भएको अभियानको ठहर छ।
अभियानले संयुक्त अरब इमिरेट्समा प्रधानमन्त्रीस्तरको प्रत्यक्ष कूटनीतिक पहलबाट आममाफी सम्भव रहेको उल्लेख गर्दै नेपाल सरकारले तत्काल उच्चस्तरीय पहल लिनुपर्ने माग गरेको छ। यो विषय कानुनीभन्दा बढी मानवीय र राजनीतिक इच्छाशक्तिको भएको अभियानले जनाएको छ।
अभियानले पहिलो चरणका कार्यक्रमपछि पनि सरकारबाट कुनै ठोस पहल नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।
