काठमाडौं । जबरजस्ती करणी मुद्दामा जनही १३ वर्ष कैद सजाय पाएका तीन जना फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जगन्नाथदेवल कारागार कार्यालय सुन्धाराबाट फरार रहेका उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागार चलान गरिएको हो।
पक्राउ पर्नेहरुमा धादिङको धुनीबेंशी नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्दै आएका ३४ वर्षीय संजिव परियार भन्ने राजेन्द्र दर्जी, मकवानपुरको चुरीयामाई गाउँपालिका–३ घर भई हाल तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ३७ वर्षीय राजेन्द्र परियार र धादिङको थाक्रे गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३५ वर्षीय विवेक परियार भन्ने राजेन्द्र दर्जी उक्त मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका थिए।
उनीहरू मिति २०७४ असोज १ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए। तर, मिति २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए।
फरार रहेका उनीहरूलाई प्रहरी टोलीले २०८२ पुष ९ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउपश्चात् उनीहरूलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा पेश गरिएको प्रहरीले जनाएको छ।