काठमाडौँ । नेपालले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्सस्थित हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिङ्क सेन्टरमा आयोजना हुने उक्त खेलमा नेपाल सहभागी हुन लागेको हो ।
भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ र अन्तर्राष्ट्रिय स्केटिङ महासंघको सहकार्यमा हुन लागेको शर्ट ट्र्याक स्पिड आइस स्केटिङ प्रतियोगितामा नेपालबाट दुई महिला र चार पुरुष खेलाडी सहभागी हुनेछन्।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ।
प्रतियोगितामा नेपालबाट सिनियर पुरुष १००० मिटर स्पर्धामा रमेश मोक्तान र अरुण खतिवडा सहभागी हुनेछन्। यस्तै, जुनियर महिला ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे तथा जुनियर पुरुष २५० मिटरमा जेभियर जंग थापा र सायोन आर्यालले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
प्रतियोगितामा टिम म्यानेजरका रूपमा रुम्पा सन्जु श्रेष्ठ तथा अफिसियलका रूपमा संघका महासचिव सत्य थापा सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी हुन जाने नेपाली स्केटिङ टोलीलाई विदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस ऐतिहासिक सहभागिताले नेपालको खेलकुद क्षेत्रमा नयाँ अध्याय थपिएको बताउनुभयो।
उनले शीतकालीन ओलम्पिक खेलअन्तर्गत पर्ने आइस स्केटिङ नेपालको भौगोलिक संरचनासँग सुहाउँदो खेल भएकाले भविष्यमा नेपालले यस खेलमार्फत पदक जित्ने विश्वास व्यक्त गर्नुभयो।
स्मरणीय छ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघसँग आबद्ध राष्ट्रिय संघ हो।