काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेशका चर्चित क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा बिहीबार बिहान भएको दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमाएका हुन् ।
विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
थापा कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटरका रूपमा परिचित थिए । उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने विभिन्न फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाएका थिए ।