कमजोर व्यवस्थापनबीच त्रिविको ५१औँ दीक्षान्त, १६ हजार विद्यार्थी दीक्षित

दियोपोस्ट संवाददाता  

काठमाडौं । देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ । बिहीबार आयोजित समारोहमा देशभरका करिब १६ हजार विद्यार्थी दीक्षित भएका छन् ।

प्रधानमन्त्री शुसिला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूले व्यवस्थापन अत्यन्तै कमजोर रहेको गुनासो गरेका छन् । प्रवेश व्यवस्था, बस्ने स्थानको अभाव तथा प्रमाणपत्र वितरण प्रणाली अव्यवस्थित भएको विद्यार्थीहरूको भनाइ छ ।

यस वर्ष सम्बन्धित क्याम्पसहरूमार्फत नै प्रमाणपत्र वितरण गरिएको कारण प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र ग्रहण गर्ने धेरै विद्यार्थीको चाहना पूरा हुन सकेन । कालो कोट र टोपी लगाएर प्रमाणपत्र हातमा बोकेका विद्यार्थीहरू फोटो खिच्नका लागि मात्रै बिहानैदेखि रंगशालामा उपस्थित भएका थिए ।

विशेषगरी बाहिरी जिल्लाबाट आएका कतिपय विद्यार्थीहरू फोटो खिच्नकै लागि दीक्षान्त पोशाकमा घण्टौँसम्म लाइनमा उभिन बाध्य भएका थिए ।

यस विषयमा त्रिभुवन विश्वविद्यालय प्रशासनले ठूलो संख्यामा विद्यार्थी सहभागी भएकाले व्यवस्थापनमा केही कठिनाइ आएको स्वीकार गरेको छ । आगामी दीक्षान्त समारोहहरूमा व्यवस्थापनलाई थप व्यवस्थित र विद्यार्थीमैत्री बनाइने प्रतिबद्धता विश्वविद्यालयले जनाएको छ ।

देशकै प्रतिष्ठित विश्वविद्यालयको दीक्षान्त समारोह अव्यवस्थित हुनुले विश्वविद्यालयको तयारी र व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ भने सहभागी विद्यार्थीहरूले यसबाट पाठ सिक्दै भविष्यमा सुधारको अपेक्षा गरेका छन् ।

तस्बिरः रीता बुढाथोकी

सिफारिस