काठमाडौँ । समावेशी समाजवादी पार्टीले समानुपातिक प्रणालीअन्तर्गत सांसद उम्मेदवार बन्न चाहने नागरिकहरूका लागि अवसर खुला गरेको छ। पार्टीले विज्ञप्ति जारी गर्दै न्याय, समावेशिता र सहभागी लोकतन्त्रमा विश्वास गर्ने सबै नेपाली नागरिकलाई यो अवसर उपयोग गर्न आह्वान गरेको हो।
फाल्गुन २१ का लागि समावेशी, प्रगतिशील र वैकल्पिक राजनीतिक मञ्च खोजिरहेका व्यक्तिहरूका लागि यो अवसर महत्वपूर्ण रहेको पार्टीले जनाएको छ। पार्टीले आफूलाई नागरिकहरूको आफ्नै राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्दै समानुपातिक उम्मेदवारको सूची तय गरी शुक्रबार निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ।
सांसद बन्ने इच्छा भएका स्वतन्त्र तथा प्रतिबद्ध व्यक्तिहरूले अवसर नछुटाउन पार्टीले आग्रह गरेको छ। इच्छुक उम्मेदवारहरूले शुक्रबार भोलिसम्म इन्सबक्स, एसएमएस वा फोनमार्फत आफ्नो नाम, संक्षिप्त परिचय र सम्पर्क विवरण पठाउन सक्ने व्यवस्था गरिएको छ।
पार्टीका अनुसार यसको मूल एजेन्डा सहभागितात्मक लोकतन्त्र हो। नागरिकलाई प्रत्यक्ष रूपमा नीति निर्माण र निर्णय प्रक्रियामा सहभागी गराउने उद्देश्यसहित पार्टीले ‘साइबरनेटिक लोकतान्त्रिक सङ्घीयता’ जस्तो नयाँ राजनीतिक मोडल प्रस्ताव गरेको छ। स्थानीय तहलाई सशक्त बनाउँदै प्रविधिको प्रयोगमार्फत जनता र नेताबीचको संवाद खुला बनाउने धारणा पार्टीको रहेको छ।
समावेशितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टीले जातीय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, जनजाति, युवा, मजदुर तथा पिछडिएका समुदायहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति अवलम्बन गर्ने जनाएको छ।
पर्यावरणीय न्याय र दिगो विकासलाई पनि पार्टीले उच्च प्राथमिकतामा राखेको छ। पार्टीका संरक्षक तथा सल्लाहकार सुनिल बाबु पन्तका अनुसार हरित अर्थतन्त्र, कृषि र पर्यावरणीय सन्तुलनलाई विकासको आधार मान्ने मोडलमा पार्टी दृढ छ। शक्ति सिंहदरबारमा मात्र सीमित नरही स्थानीय तह र नागरिकको हातमा पुग्नुपर्ने धारणा पार्टीको रहेको उनले बताए।
पार्टीले स्वास्थ्य, शिक्षा र न्याय सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ। साथै, आर्थिक समावेशीकरण र न्यायपूर्ण नीतिमार्फत गरिबी, असमानता र भेदभावविरुद्ध सङ्घर्ष गर्ने लक्ष्य लिइएको छ। उद्यम, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा समान अवसर प्रदान गर्ने प्रतिबद्धता पनि पार्टीले दोहोर्याएको छ।
समावेशी लोकतन्त्र, वातावरणीय संरक्षण, सामुदायिक सशक्तीकरण र आर्थिक न्यायमा विश्वास गर्ने व्यक्तिहरूलाई खुला रूपमा उम्मेदवार बन्न पार्टीले आह्वान गरेको छ। पार्टीका अनुसार यो पहल केवल उम्मेदवारीको प्रक्रिया मात्र नभई सबैका लागि खुला, सहभागी र दिगो राजनीति निर्माण गर्ने अभियान हो।
समावेशितालाई नारामा होइन, व्यवहारमा उतार्ने लक्ष्यसहित राजनीतिलाई सबैका लागि खुला बनाउने प्रयासमा सहभागी हुन पार्टीले पुनः नागरिकहरूलाई आह्वान गरेको छ।