रास्वपाले सांसदको टिकट दिने भएपछि पूर्व सांसद घिमिरेले छाडे एमाले

दियोपोस्ट संवाददाता

बुटवल । नेकपा (एमाले) का नेता तथा रुपन्देही-५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद वासुदेव घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन् । घिमिरेले सार्वजनिक वक्तव्य जारी गर्दै पुराना राजनीतिक दल र तिनको नेतृत्वले देश र जनताको अपेक्षा अनुसारको परिवर्तन दिन नसकेको भन्दै एमालेबाट अलग भएको घोषणा गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाउने आन्तरिक तयारी भएका कारण उनले एमाले छाडेको स्रोत बताउँछ ।

रास्वपाबाट आएको प्रस्तावका बारेमा प्रष्ट पार्दै उनले भने, ‘रास्वपाका नेताहरुले राष्ट्रका लागि तपाइको आवश्यकता छ तपाइ हाम्रो टीममा आउनुस् र सँगै अघि बढौं भन्ने प्रस्ताव गरेका छन् । टुङ्गो लाग्न बाँकी छ, तैपनि म प्रस्तावप्रति सकारात्मक छु ।’

त्यसो त, घिमिरे निटक स्रोतका अनुसार उनी लामो समयदेखि एमालेको आन्तरिक निर्णय प्रक्रिया र नेतृत्व शैलीप्रति असन्तुष्ट थिए। एमाले भित्र विचार, क्षमता र योगदानको उचित कदर नभएको र पछिल्लो महाधिवेशनपछि पार्टीभित्र अवसर वितरण, उम्मेदवार चयन र नेतृत्व तहको व्यवहारप्रति उनी असन्तुष्ट रहेको बताइन्छ ।

यही असन्तुष्टि अन्ततः पार्टी छाड्ने निर्णयमा परिणत भएको विश्लेषण गरिएको छ। घिमिरे एमाले छाडेपछि उनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने चर्चा सुरु भएको छ । विभिन्न सञ्चार माध्यमका अनुसार रास्वपाका केही नेताहरूले घिमिरेसँग संवाद गरेका छन् र आगामी राजनीतिक यात्राबारे छलफल भएको छ।

यद्यपि घिमिरे स्वयंले भने कुनै पार्टी प्रवेशबारे तत्काल निर्णय भइनसकेको बताएका छन्। उनले आफू अहिले विकल्प र सम्भावनाबारे विचार गर्ने चरणमा रहेको र देशमा सुशासन र जवाफदेहितालाई प्राथमिकता दिने राजनीतिक धार खोजिरहेको संकेत गरेका छन्।

पुराना दलप्रति बढ्दो जनअसन्तुष्टि र नयाँ राजनीतिक शक्तिहरूप्रति आकर्षण बढिरहेका बेला घिमिरेको निर्णयलाई एमालेभित्रको आन्तरिक असन्तुलन र नयाँ शक्तिको उदयसँग जोडेर हेरिएको छ।

सम्बन्धित खबर