तराईमा शीतलहरको प्रभाव कायमै, वीरगञ्जका विद्यालय तेस्रो पटक पुनः बन्द

दियोपोस्ट संवाददाता

काठमाडौँ । वीरगञ्जसहित तराईका विभिन्न जिल्लामा लगातार बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ। अत्यधिक चिसो र कुहिरोका कारण बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय बढी जोखिममा परेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन्।

शीतलहरको प्रभाव नघटेसँगै वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका अधिकांश विद्यालय तेस्रो पटक पुनः बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाका अनुसार पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिन थप बिदा दिइने निर्णय गरिएको हो।

यसअघि पनि लगातार दुई सातासम्म विद्यालय बन्द गरिँदै आएको थियो । पछिल्ला दिनहरूमा तराईका जिल्लामा न्यूनतम तापक्रम उल्लेख्य रूपमा घटेको छ भने बिहान र बेलुका बाक्लो कुहिरो लाग्ने क्रम जारी छ।

चिसोका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुनुका साथै स्वास्थ्य समस्या देखिन थालेका छन्। अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, दम तथा चिसोसँग सम्बन्धित बिरामीको संख्या बढ्दै गएका छन्।

शीतलहरबाट बच्न स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थाले आगो ताप्ने व्यवस्था, न्यानो कपडा वितरण र सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेका छन्।

मौसमविद्हरूले अझै केही दिन चिसो कायमै रहने सम्भावना रहेको बताउँदै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, न्यानो लुगा लगाउन र बालबालिकाको विशेष ख्याल गर्न आग्रह गरेका छन्।

तराईमा जारी शीतलहर कहिलेसम्म रहन्छ भन्ने अझै निश्चित नभए पनि स्थानीय तहले अवस्था हेरेर थप निर्णय लिने जनाएको छ।

सम्बन्धित खबर