टिकटकले सार्वजनिक गर्‍यो सन्-२०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरूको सूची

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकले सन्-२०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। यस सूचीले नेपाली प्रयोगकर्ताहरू वर्षभरि के-कस्ता विषयमा बढी चासो राख्थे भन्ने झलक दिन्छ।

चाडपर्व, संगीत ट्रेन्ड, घुमफिरका गन्तव्य, मनपर्ने कार्यक्रमदेखि दैनिक जीवनका निर्णयमा सहयोग गर्ने उपयोगी जानकारीसम्म नेपाली प्रयोगकर्ताहरू टिकटकमार्फत खोजिरहेका देखिन्छन्।

सार्वजनिक सूचीअनुसार टिकटक सर्च नेपाली प्रयोगकर्ताहरूका लागि केवल मनोरञ्जनको माध्यम मात्र नभई दैनिक जीवनमा उपयोगी जानकारी खोज्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। दशैं, तिहार र तीजजस्ता पर्वका सामग्री, खाना पकाउने रेसिपी, समाचार अपडेट, यात्रा योजना, किनमेलअघि रिभ्यु तथा स्थानीय शैली र संस्कृतिसँग सम्बन्धित जानकारीका लागि प्रयोगकर्ताहरू टिकटकमा सक्रिय देखिन्छन्।

टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने, ‘नेपालमा टिकटक सर्च दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ। प्रयोगकर्ताहरू भिडियो हेर्न मात्र नभई वास्तविक समयमै जानकारी, सिफारिस र सन्दर्भ खोज्न टिकटक प्रयोग गरिरहेका छन्। खेलकुदका गतिविधि, विकेन्ड ट्रिपको योजना, नयाँ कुरा सिक्न वा किनमेलअघि रिभ्यु हेर्न नेपालीहरूले टिकटकलाई विश्वासिलो आधार बनाइरहेका छन्।’

यस वर्षका सर्चहरूले उद्देश्यपूर्ण खोजको प्रवृत्ति देखाएको टिकटकको भनाइ छ। विशेषगरी यात्रा तथा पर्यटनसँग सम्बन्धित गन्तव्यहरूमा देखिएको चासोले टिकटकले घुमफिरको योजना बनाउन र नयाँ अनुभव खोज्न सहयोग गरिरहेको स्पष्ट हुन्छ। साथै, सेलिब्रिटी, चलचित्र, टिभी शो, गीत-संगीत, भाइरल क्षण र समसामयिक घटनाले नेपाली संस्कृतिको धड्कन नै प्रतिबिम्बित गरेको टिकटकले जनाएको छ।

सूचीले नेपाली प्रयोगकर्ताहरू प्रमुख समाचार, सार्वजनिक घटना र प्रविधिसम्बन्धी जिज्ञासामा अपडेट रहन पनि टिकटक सर्च प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ। विभिन्न क्रिएटरहरूले यस्ता विषयमा वास्तविक समयमै जानकारी प्रदान गर्दै प्रयोगकर्तालाई सहयोग पुर्‍याइरहेका छन्।

सन् २०२५ को अन्त्यसँगै सार्वजनिक गरिएको यो सूचीले नेपालमा टिकटक सामूहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर-केन्द्रित खोजले भरिएको प्लेटफर्म बनेको देखाउँछ। टिकटकले नेपालमा सशक्त र सिर्जनशील समुदायलाई निरन्तर साथ दिँदै मानिसहरूलाई अझ अर्थपूर्ण, रमाइलो र जानकारीमूलक अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

यस वर्ष नेपालमा सबैभन्दा धेरै खोजिएका शब्दहरूमा शोबिज सेलिब्रिटी, टिकटक क्रिएटर, खेलाडी, पर्यटकीय स्थान, टिभी शो तथा चलचित्र, ट्रेन्डिङ क्षण, गीत-संगीत र विभिन्न खाना तथा रेसिपीहरू समावेश छन्।
सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटीहरुमा चलचित्र नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का, रेखा थापा, नायक राजेश हमाल र कलाकार मदन कृष्ण श्रेष्ठ रहेका छन् ।

त्यस्तै टिकटकमा सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटरमा सिम्पल खरेल, आश्मा विश्वकर्मा, रचना रिमाल, अनमोल केसी र आना शर्मा रहेका छन् भने सबैभन्दा धेरै खोजिएका खेलाडीमा साबित्री भण्डारी ‘साम्बा’, बिमल घर्ती मगर, दिपेन्द्र सिंह ऐरी, एम्बाप्पे र मेस्सी रहेका छन् ।

टिकटकमा सबैभन्दा धेरै खोजिएका स्थानमा मुस्तांग, मनांग, नर्थअन्नपूर्ण बेस क्याम्प, पशुपतिनाथ मन्दिर, भीमसेनस्थान मन्दिर रहेका छन् ।

टिकटकमा बिग बस, परान (चलचित्र), जेरी अन टप (चलचित्र), जारी २ (चलचित्र) र रोडिज सिजन ७, सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा अन्र्तगत परेका छन् । त्यस्तै, तीज, कुकुर तिहार, मिस ग्राण्ड नेपाल, रुटिन अफ नेपाल बन्द, एनपीएल सिजन २ पनि टिकटकमा सबै भन बढिी खोजिएको छ ।

सबैभन्दा धेरै खोजिएका गीत र साउन्डट्र्याकमा ठुमक ठुमक जानीए माहिए दे नाल, आइसक्रिम खाउंगी काश्मिर जाउंगी, माया गर्नु ल (जोन चाम्लिंग), वाक्क लाग्दो संसार, सारी लायर आएँ भने परेका छन् ।

सबैभन्दा धेरै खोजिएका खाना र रेसिपीमा हत्क्युला फ्रुट, स्टिम चिकेन रेसिपी, सेलरोटी रेसिपी, सिंगडा रेसिपी, पक्कु रेसिपी रहेका छन् ।

सिफारिस