
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पार्टीले सिफारिस गरेका उम्मेदवारको विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलाइएका समाचारप्रति आपत्ति जनाउँदै स्पष्टीकरण दिएका छन् ।
मन्त्री घिसिङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही उम्मेदवारलाई आफू र पारिवारिक सम्बन्ध जोडेर फैलाइएका समाचार, टिप्पणी र आरोपहरू असत्य, भ्रामक तथा नियोजित भएको उल्लेख गरेका छन् । ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्,’ उनले स्पष्ट पारेका छन् ।
साथै, उनी नेपाल पार्टीको तर्फबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति भएको पनि मन्त्री घिसिङले बताएका छन् ।
त्यसैगरी, समानुपातिक सूचीमा रहेका र ‘मेरो ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि आफ्नो ससुरा नभएको स्पष्ट पार्दै उनले समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको बताएका छन् ।
मन्त्री घिसिङले सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थपरक राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको उल्लेख गर्दै, त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्यहीन प्रचार र नियोजित आक्रमण गरिएकोमा दुःख व्यक्त गरेका छन् । उनले राजनीतिक असहमतिलाई स्वाभाविक माने पनि झुट र भ्रम फैलाएर बदनाम गराउने प्रयास आपत्तिजनक भएको बताएका छन् ।
स्पष्टीकरणमा निर्वाचन व्यवस्थापनका क्रममा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
मन्त्री घिसिङले आफू आज पनि पारदर्शिता, इमानदारिता र जनताप्रतिको जवाफदेहितामा दृढ रहेको उल्लेख गर्दै भ्रामक समाचार र टिकाटिप्पणीको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
