राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ। लामो समयदेखि अलग–अलग रूपमा राजनीतिक गतिविधि गर्दै आएका यी दुई दलबीच राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको एजेन्डालाई सशक्त रूपमा अघि बढाउने उद्देश्यसहित एकता भएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भएपछि औपचारिक रूपमा बुधबार पार्टी एकताको घोषणा गरिएको हो। यससँगै कमल थापाले विभाजनपछि पुनः राप्रपामै फर्किएका छन्।

दुवै पार्टीबीच विभाजनका कारण राजावादी र हिन्दू राष्ट्र पक्षधर मत विभाजित हुँदै आएको थियो। आगामी संघीय संसद तथा अन्य निर्वाचनलाई लक्षित गर्दै ती मत र शक्तिलाई एकीकृत गर्ने आवश्यकताका कारण पार्टी एकता भएको नेताहरूले बताएका छन्। साथै, राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावकारिता बढाउन एकीकृत रूपमा अघि बढ्नु नै एकताको मुख्य कारण रहेको विश्लेषण गरिएको छ।

पार्टी एकताका लागि दुवै पक्षबीच ६ बुँदे सहमति भएको छ । राप्रपा नेपालका सम्पूर्ण नेता–कार्यकर्तालाई राप्रपामा समायोजन गर्ने, केन्द्रीय तथा स्थानीय तहका पदाधिकारीलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्ने,
संगठन र भातृ संस्थाहरूको समायोजन गर्ने, विभाजनका क्रममा उत्पन्न असन्तुष्टि अन्त्य गर्ने, साझा राजनीतिक एजेन्डा अघि बढाउने, आगामी निर्वाचन संयुक्त रूपमा लड्ने, जस्ता विषय समेटिएका छन्।

एकतापछि राजेन्द्र लिङ्देन नै एकीकृत राप्रपाको अध्यक्ष रहने सहमति भएको छ। उनी पार्टीको औपचारिक नेतृत्वमा रहनेछन्।

त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापालाई पार्टीमा सम्मानजनक र महत्वपूर्ण भूमिका दिने सहमति भएको छ। थापालाई विशेष जिम्मेवारीसहित वरिष्ठ नेताको हैसियतमा पार्टीभित्र समावेश गरिने बताइएको छ। यद्यपि, उनको ठ्याक्कै पद र जिम्मेवारीबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

पार्टी एकतापछि राजावादी र हिन्दू राष्ट्र पक्षधर राजनीति पुनः संगठित हुने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यस एकताले राप्रपाको राजनीतिक प्रभाव बढ्न सक्ने र आगामी चुनावमा पार्टीलाई लाभ पुग्न सक्ने सम्भावना देखिएको छ।

यसअघि नेतृत्व विवादका कारण विभाजित भएको राप्रपा पुनः एकीकृत भएपछि राजसंस्था र हिन्दू राष्ट्रको मुद्दालाई एक स्वरमा अघि बढाउने तयारीमा जुटेको छ।

सम्बन्धित खबर