चौतर्फी आलोचनापछि रास्वपाद्वारा समानुपातिक सूची सच्याउने निर्णय

दियोपोस्ट संवाददाता  

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक प्रतिनिधि बन्दसूची विवादमा परेपछि सूची सच्याउने निर्णय गरेको छ। पार्टीले सामाजिक सञ्जाल, कार्यकर्ता र सरोकारवालाबाट आएको प्रतिक्रिया तथा सुझावलाई ध्यानमा राख्दै सूचीमा सुधार गर्ने तयारी अघि बढाएको हो।

रास्वपा सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तिम समयमा गरिएको राजनीतिक सहमति र समयको अभावका कारण सूची तयार गर्दा केही त्रुटिहरु देखिएको हुन सक्छ, जसलाई निर्वाचन आयोगले तोकेको म्यादभित्र समयमै सच्याइने छ।’

सुझाव पेश गर्नका लागि पार्टीले बिहीबार बिहान १० बजेभित्र पार्टी कार्यालय वा प्रदेश सभापतिमार्फत् सुझाव दिन आह्वान समेत गरेको छ।

पार्टीभित्र पनि सूचीलाई लिएर आलोचना देखिएको छ। केही नेताहरूले नाम समावेशी, क्षेत्रीय र सामाजिक समता अनुकूल नभएको भन्दै असन्तुष्टि जनाएका छन् तथा सूचीमा नेतृत्व निकटका, प्रसिद्धि, पहुँच तथा परिवारका सदस्यलाई प्राथमिकता दिइएको आरोप उठाएका छन्।

रास्वपाका नेता गणेश पराजुलीले सहमति र संवाद गर्ने प्रक्रियामा समयको कमीका सूचीमा गल्तीहरू हुनसक्ने भएकाले आवश्यक सुधार गरिने बताएका छन्।

 

सिफारिस