चितवन, मंसिर १५ । माडी क्षेत्रमा हिंस्रक बनेको जंगलीहात्ती नियन्त्रणका लागि शुक्रबार राति गरिएको प्रयास असफल भएको छ ।
निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९, कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि ‘डार्ट’ गरेका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेकाअनुसार राति ११ः३५ बजे स्थानीय एक घरमा मकै खाँदै गर्दा हात्तीलाई डार्ट गरिएकामा त्यसको असर नपरेको हो ।
उनकाअनुसार हात्ती विस्तारै हिँड्ने गरी ‘जाइलाजीर’ नामक औषधि राखेर डार्ट राखिएको थियो । तर, त्यसले काम नगरेको र हात्ती भागेर निकुञ्ज पसेको उनले बताए ।
सो क्षेत्रमा खोलानाला र अप्ठ्यारो ठाउँ भएकाले ढल्नेगरी नभएर विस्तारै हिँड्नसक्ने बनाउने गरी डार्टको तयारी गरिएको थियो ।
सोका लागि प्राविधिकसहित ३५ जनाको टोली शुक्रबार साँझ माडी क्षेत्रमा परिचालन भएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार हात्तीलाई विस्तारै हिँड्ने बनाएर सम्म ठाउँमा पुनः बेहोसका लागि डार्ट गर्ने र बेहोस भएपछि दाह्रा काटेर, रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ ।
रेडियोकलर जडानसँगै हात्तीको अनुगमन गर्ने र त्यति गर्दा पनि हिंस्रक भइरहेमा मार्ने योजना रहेको छ ।
सो हात्तीले बुधबार स्थानीय दुई महिलालाई आक्रमण गरी मारेको थियो । यसअघि, हात्तीले गएको दसैंतिर पनि एक बालकलाई आक्रमण गरी ज्यान लिएको थियो । (रासस)