कर्णाली प्रतिष्ठानमा ब्लड बैंक शुरु

दियो पोस्ट  

जुम्ला, मङ्सिर १५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ ।

रक्तदान कार्यक्रम गरी ब्लडबैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिएको हो । यहाँ ब्लडबैंक नभएका कारण निकै ठूलो समस्या हुने गथ्र्यो । अब रगत अभाव हुन नदिने उहाँको भनाइ छ । प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगतसहितको भण्डार क्षमताको यन्त्र र अन्य सामग्री राखिएको ल्याब इञ्चार्ज विवेक पुन मगरले जानकारी दिएको हो । उहाँका अनुसार आज पहिलो दिन प्रतिष्ठान परिवारबाटै १२ जनाले रक्तदान गरेका छन् ।

“हामीले रगत सङ्कलन गरी रेफ्रिजेटरमा राखिसकेका छौंँ”, उनले बताए। बेलुकी अबेरसम्म २० पिण्ट रगत सङ्कलन गर्ने लक्ष्य रहेको छ । ब्लडबैंक ब मेसिन रु ९६ लाख र अत्याधुनिक प्रयोगशाला रु एक करोड ३६ लाखमा स्थापना भएको जनाइएको छ ।

सेना प्रहरी धाउनु पर्दैन

प्रतिष्ठानमा कसैलाई रगतको अभाव भएमा यसअघि प्रतिष्ठानका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीलगायत सरोकारवाला निकाय धाउनुपर्ने अवस्था अब रोकिने प्रतिष्ठानको जिकिर छ । यसका लागि सबैले रगत दिएर सहयोग गर्नुपर्ने प्रतिष्ठानले आग्रह गरेको छ ।

प्रतिष्ठानले आरम्भ गरेको ब्लडबैंक सञ्चालन गर्न नागरिक, सामाजिक सङ्घसंस्थाले रगत दिने अभियानका कार्यक्रमसमेत गर्न आवश्यक रहेको बताइएको छ । ब्लड बैंकको शुरुआतको दिन भने अस्पताल निर्देशक धर्मराज गोसाईं, डा निरेश थापासहित चिकित्सकको टोलीले रक्तदान गरेको छ ।

प्रतिष्ठानले यसअघि सघन उपचार कक्ष सेवा शुरु गरिसकेको छ । यसैगरी सिटिस्क्यान र अक्सिजन प्लाण्टसमेत शुरु गर्ने तयारी भएको छ । यसैगरी पछिल्लो समयमा प्रतिष्ठानमा सेवा प्रवाह समेत बढेको छ । जुम्लासहित साविक कर्णालीका हुम्ला, डोल्पा, कालीकोट, मुगु र जाजरकोटबाट बिरामी प्रतिष्ठानमा बढिरहेका छन् । (रासस)