स्वस्तिकको आठौँ साधारण सभा सम्पन्न, आर्थिक वर्ष ०७४/०७५ को खुद नाफा १३ लाख !

Diyo post  

 

धादिङ, मंसिर २२ । धादिङको ज्वालामुखी गाउँपालिका– २ मा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सोही गाउँपालिकाको सातदोबाटोमा एक कार्यक्रम गरि बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संस्था ( नेम्प्कुस) कि उपाध्यक्ष पार्वति राई खाँडको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दमान श्रेष्ठले बार्षिक कार्यपत्र तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका प्रवन्धक भीम विश्वकर्माले अर्थिक बर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्ष भरि संस्थाले गरेका कारोबार, ऋण प्रवाह, निक्षेप आदिका विवरण प्रस्तुत गर्दै प्रवन्धक भिम विश्वकर्माले चालु आर्थिक बर्षमा संस्थाले १३ लाख दुई हजार तीन सय ४८ रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गरेका थिए ।

स्थापनाको आठ बर्षमा नै संस्थाले गाउँपालिकामा उल्लेख्य योगदान दिएको र आगामी दिनमा संस्थालाई थप विस्तार गर्दै लैजाने बताइएको छ । हाल संस्थामा ३ जनामात्रै कर्मचारी रहेका छन् । भेलाबाट संस्थालाई थप बलियो बनाउनका लागि शेयर खुल्ला गरिने निर्णय भएको छ । त्यसैगरि संस्थाले चाँडै सेवाग्राहीहरुलाई चेक बुक वितरण गर्ने निर्णय गरेको संस्थाका प्रवन्धक भीम विश्वकर्माले दियोपोष्टलाई बताएका छन् ।

स्वस्तिकले बचत तथा ऋणको सेवामात्रै नभएर रेमिट्यान्सको सेवा पनि दिँदै आएको छ जसबाट स्थानियहरुले सदरमुकाम जाने कष्ट बाट छुटकारा पाएका छन् । स्वस्तिकले आइएमई, हिमाल रेमिट, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मार्फत विश्वका कुनैपनि मुलुकबाट आएका पैसा सर्वसाधरणले सजिलै निकाल्न सक्ने सुविधा प्रदान गरेको छ ।
शनिबार सम्पन्न भएको बार्षिक साधारण सभामा उत्कृष्ठ बचतकर्ता, उत्कृष्ठ ऋणी र दाताहरुलाई सम्मान प्रदान गरिएको छ ।

सम्बन्धित खबर