काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन् ।
मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले आइतबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै निन्दनिय र दुःखद रहेको उल्लेख गरेका छन् । उनले घटनाको दोषीलाई राज्यले कुनैपनि हालतमा उम्कन नदिने बताउदै धैर्य गर्न आग्रह गरे । ‘ढिलोचाँडो अवश्य हुन्छ, तर दोषी उम्केर भाग्न सक्दैन’ प्रधानमन्त्री ओलीले भने ।
निर्मलाको बलात्कार गरि हत्या गर्ने अभियुक्तलाई प्रहरीले अनुसन्धामार्फत तीब्र खोजी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले जनतालाई पनि सरकारको सहयोग गर्न आग्रह गरे । उनले सरकार र आफु संधै मानव अधिकारको पक्षमा रहेको समेत स्पष्ठ पारेका छन् ।
फरक सन्दर्भमा प्रधानमन्त्री ओलीले तराईका जिल्लाहरुमा पर्ने शीतलहरका कारण बर्षेनी सैयौँले ज्यान गुमाइरहेको प्रति सरकार सचेत रहेको र यस बर्ष सरकारले त्यसपतर्फ ध्यान दिएको बताए । उनले शीतलहर अगावै तराईका जिल्लाहरुमा सरकारले न्यानो कपडा वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।