बीबीसी । ‘कमेडी नाईट्स विथ कपिल ’ तथा ‘द कपिल शर्मा शो’ मार्फत चर्चित बनेका भारतिय कमेडियन कपिल शर्मा वैवाहिक वन्धनमा बाँधिन लागेका छन् । उनकी हुनेवाला श्रीमती गिन्नी चतरथले कपिल शर्मासंगको तस्विर इन्स्टाग्राममा सार्वजनिक गर्दै आफुहरु वैवाहिक जीवनमा गाँसिन लागेको बताएकी थिइन् ।
लामो समयदेखि पर्दाबाट हराएका कपिल शर्मा विवाहको कारणले पुन चर्चामा आएका छन् ।
१७ नोभेम्बर गिन्नी चतरथको जन्मदिनको अवसर पारेर कपिल शर्माले उनिसंगको फोटो शेयर गरेका थिए । फोटोसंगै उनले जीवनभर साथ नछोड्ने वाचासमेत गरेका छन् । गिन्नीको वास्तविक नाम भवनीत चतरथ हो । गिन्नी उनको प्यारो नाम भएको बताइएको छ ।
जलन्धरको शीख परिवारमा जन्मेकी गिन्नी र कपिल शर्माको भेट सन् २००५ मा भएको थियो । त्यसवेला कपिल २४ बर्षका थिए भने गिन्नी १९ बर्षकी मात्रै थिईन् । एक पत्रिकालाई दिएको अन्तरवार्तामा त्यसबेला आफ्नो खर्च जुटाउनका लागि नाटकघरका शोहरुको निर्देशन गर्ने गर्दथे । जसका लागि विभिन्न कलेजहरुमा गएर विद्यार्थीहरुको अडिशन लिने गर्दथे । त्यही अडिशनको दौरानमा कपिलको भेट गिन्नी संग भएको थियो । गिन्नीको कामबाट कपिल निकै प्रभावित भएका थिए । उनका नाटकहरुमा पनि गिन्नीले काम गरेकी थिइन् । त्यतिबेला गिन्नीले कपीलको लागि आफ्नो घरबाट खाना लिएर आउने गर्दथिन् ।
अभिनेत्री बन्ने सपना देखेकी गिन्नीले सन् २००९ मा स्टारवनको हाँस्य कार्यक्रम ‘हँस बलिए’ मा पनि भाग लिएका थिए । उक्त शोपश्चात गिन्नीलाइ पंजावी टेलिभिजनबाट पनि अफर आएको थियो तर उनले अभिनयबाट टाढा रहने निर्णय गर्दै उक्त अफरलाई अस्विकार गरेकी थिइन् । फाइनान्स विषयमा एमबिए गरेकी गिन्नीले आफ्ना पिताको व्यवसायलाई सघाउने निर्णय गरिन् ।
परिवारको सबैभन्दा जेठी छोरी हुन् गिन्नी । उनको एक बहिनी पनि छिन् । गिन्नीका बाबुले आफ्नो छोरीको विवाह कपिल शर्मासंग गर्न अस्विकार गरेका थिए । पहिलो पटक कपिल गिन्नीको हात माग्न जाँदा उनका पिताले ठाडै अस्विकार गरिदिएका थिए ।
२०१६ डिसेम्बरमा कपिलले गिन्नीलाई फोन गरि उनीसंग विहे गर्ने इच्छा रहेको बताए । यसपटक भने कपिल विजयी भएका थिए । विहेपश्चात कपिल र गिन्नी हनिमुन भने नजाने विचारमा छन् किनकी विहेलगत्तै कपिल आफ्नो रियालिटी सोहरुमा व्यस्त रहने छन् ।