काठमाडौं, मंसिर २७ । संवैधानिक परिषदले प्रधानन्यायाधिशमा चोलेन्द्रशमशेर जबरालाई सिफारिस गरेको छ । संवैधानिक परिषदको बिहिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधिश मध्येबाट जबराको नाम प्रधानन्यायाधिशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधिशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सर्वोच्च अदालतको दोस्रो वरियतामा रहेका वरिष्ठ न्यायाधिश दिपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि तेस्रो वरियताका वरिष्ठ न्यायाधिश जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गरिएको छ । २०१४ साल मंसीर २८ गते काठमाडौंको सुकेधारामा जन्मनु भएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधिशको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदै छन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधिश नियुक्तीका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाई विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।