
काठमाडौँ । सामान्य पुरुष त हनी ट्र्यापमा पर्न सक्ला, तर प्रहरीका एसपी नै हनी ट्र्यापमा परे भने के होला ?
यति बेला यस्तै एक घटना बाहिर आएको छ । एक जना बहालवाला एसपी नै हनी ट्र्यापमा परेका छन् । यी एसपी नियमित नेपाल प्रहरीका नभई राष्ट्रिय अनुसन्धान विभागका हुन् । हनी ट्र्यापमा परेर उनले २७ लाख रुपैयाँ बुझाइसकेका छन् । तर, उनीसँग जोडिएकी महिलालाई त्यो रकमले नपुगी ५० लाख रुपैयाँसम्मको माग गर्न थालेपछि अन्ततः उनी प्रहरी हिरासतमा पुगेकी छिन् र मुद्दा अदालतसम्म पुगेको छ ।
आफूसँग नजिकिएर सम्बन्धमा रहेकी तर पछि पटक-पटक ब्ल्याकमेल गर्ने, रकम माग गर्ने र रकम नदिए परिवार तथा आफन्तहरूलाई समेत म्यासेज पठाउन थालेपछि बाध्य भएर करिब ४० वर्षका ती एसपीले जिल्ला प्रहरी परिसर काठमाडौँमा युवतीविरुद्ध जाहेरी दिएका थिए । पीडित एसपीकै जाहेरीका आधारमा प्रहरीले गुल्मीको साबिक पौदी अमराई गाविस वडा नम्बर ३ तथा हालको गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीय कुसुम गुभाजुलाई पक्राउ गरी अनुसन्धान सकेर सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
प्रदीप अर्याल (परिवर्तित नाम) राष्ट्रिय अनुसन्धान विभागका एसपी हुन् । एक विवाहित महिलासँग नजिकको सम्बन्धमा रहँदा उनी कसरी हनी ट्र्यापमा परे भन्ने विषयमा उनले विस्तृतमा जाहेरी दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको जाहेरीको सार संक्षेप यस प्रकार छ:
काठमाडौँमा बस्ने क्रममा प्रतिवादी कुसुम गुभाजुसँग भेटघाट र परिचय भई सामाजिक सञ्जालमा कुराकानी भयो । निजले आफू विवाहित रहेको र परिवारसहित काठमाडौंको बालुवाटारमा बस्दै आएको बताउनुभएको थियो । केही समयपछि पटक-पटक खाजा खान भेट्न आग्रह गरेपश्चात् खाजा तथा खाना खाँदा हामीहरूबिच कुराकानी हुने क्रममा ‘म तपाईँलाई माया गर्छु’ भन्ने र सामाजिक सञ्जालमा कुराकानी हुँदै जाँदा ‘पटक-पटक भेटघाट गरौँ, तपाईँ मलाई मन पर्छ, हामी एकै ठाउँको मान्छे भएकोले निर्धक्क भई भेट्न आउनुहोस्’ भनी बारम्बार आग्रह गर्नुभयो । मैले चिनजानको हिसाबले आफू र निज प्रतिवादी दुवैजना विवाहित भएकोले कुराकानी र भेटघाट गर्दा अप्ठेरो पर्छ भन्दा समेत ‘मलाई तपाईँ धेरै मन पर्छ, साथी हो’ भनी निरन्तर दबाब दिन थाल्नुभयो । त्यसपछि ‘ठिकै छ नि त, साथीभाइ हुँदा के फरक पर्ला र’ भनी आपसी कुराकानी हुँदै गयो । हामी उमेर पुगेका साबालक, मानसिक रूपमा सक्षम एवं तन्दुरुस्त समेत भएकोले नजिकको मित्रता कायम भयो र यिनै संवाद, भेटघाट एवं सहयोगका आधारमा स्वाभाविक प्राकृतिक विशेषता एवं स्वतन्त्र सहमतिमा नजिकिएका थियौँ ।
रकम दिए ब्ल्याकमेल, गाली बेइज्जती नगर्ने, सामाजिक सञ्जालबाट टाढा रहने, कुनै पनि थप आर्थिक माग नगर्ने प्रतिबद्धता जनाएपछि बाध्य भएर २० लाख रुपैयाँ दिएको थिएँ ।
तत्पश्चात् हामीहरूबिच आपसी सहमति एवं समझदारीमा माया प्रेमका कुराकानी तथा भेटघाटसमेत भएको विषयलाई केही महिनादेखि फसाउने प्रपञ्च गरी हामीबिच भएका माया प्रेमका संवादहरूलाई स्क्रिनसट गरी सेभ गरेर राखेकी रहिछन् । त्यही संवादलाई हतियार बनाएर मबाट आर्थिक लाभ लिने उद्देश्यले विभिन्न मोबाइल नम्बरबाट फोन, म्यासेज र ह्वाट्सएपमार्फत निरन्तर ‘कम्तीमा ५० लाख रुपैयाँ दिनू, अन्यथा झुटा मुद्दामा फसाएर जेल हाल्छु, मार्छु’ जस्ता धम्की निरन्तर दिएपछि निजले दिएको मानसिक यातनाबाट आजित भएको थिएँ । त्यसपछिको छलफलमा ‘२० लाख रुपैयाँ दिए ब्ल्याकमेल नगर्ने, गाली बेइज्जती नगर्ने, सामाजिक सञ्जालबाट समेत टाढा रहने, कुनै पनि थप आर्थिक माग नगर्ने’ प्रतिबद्धता जनाई पैसा उपलब्ध गराउन पटक-पटक डर, धाक र धम्की दिएपछि म बाध्य भएर निजले पठाएको खाता नम्बर र क्युआर कोडमा ट्रान्सफर तथा चेकमार्फत गरी २० लाख रुपैयाँ दिएको थिएँ ।
त्यसबाहेक थप ७ लाख नगदसमेत गरी जम्मा २७ लाख रुपैयाँ दिँदा पनि मेरा परिवार, कार्यालयका साथीहरू एवं नजिकका चिनजानका व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूलाई म्यासेज गर्ने र अनधिकृत विषय प्रविष्ट गर्ने गरेको जानकारी साथीभाइ र आफन्तहरूबाट पाएँ । त्यसपछि उल्लेखित नामको खाता खोजेर हेर्दा निजले मेरो फोटो प्रयोग गरी अनेक घृणा र द्वेष फैलाउने कुराहरू पोस्ट गरेको थाहा हुन आयो । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी फोटो तथा भिडियो एडिट गरी सामाजिक सञ्जालमा राखी म र मेरा परिवारको मानमर्दन गर्ने, दुःख हैरानी दिने तथा चरित्र हत्या गर्दै आएकी छिन् ।
म, मेरी श्रीमती, छोरी र परिवारका अन्य सदस्यसमेतलाई सामाजिक सञ्जालमार्फत अनावश्यक दुःख हैरानी दिने, गालीगलौज गर्ने र धाक धम्की दिई ज्यानै मार्नेसम्मको डर त्रास देखाएकोले कसुर गर्ने व्यक्तिले जाहेरवालासँगको संवाद, भेटघाटमा भएका कुराकानीको आधारमा माग गरेबमोजिम रकम नदिएमा चरित्रमा दाग लाग्ने झूटा आरोप लगाई फसाउने, सार्वजनिक गर्ने, घर तथा कार्यालयमा आई उक्त ब्यहोरा सबैलाई सुनाई दिने भनी इज्जत-प्रतिष्ठामा आँच पुऱ्याउने र डर त्रासमा पारी बेइमानीपूर्वक नगद, कनेक्ट आईपीएस तथा चेकमार्फत जम्मा २७ लाख रुपैयाँ लिनु-खानु गरी आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐनअनुसारको कसुर गरेकोले कानुनबमोजिम कारबाही गरिपाऊँ ।’
गत साउन २६ गते राष्ट्रिय अनुसन्धान विभागका एसपीको जाहेरी परेपछि प्रहरीले यसलाई तत्काल अनुसन्धानको दायरामा ल्यायो र अदालतबाट पक्राउ अनुमति लिएर साउन २७ गते नै कुसुम गुभाजुलाई पक्राउ गर्यो ।
प्रहरीले पक्राउ गरेपछि कुसुमले दिएको बयानमा आफूले २० लाख रुपैयाँ लिएको तर उक्त रकम प्रदीपले राजी खुसीमै दिएको बताएकी छिन् । बाँकी ७ लाख रुपैयाँ भने खानामा खर्च भएको र उक्त रकमबाट प्रदीपले समेत खाएको उनको दाबी छ ।
साथै, सुरुमा प्रदीप र आफू नजिकिएको र कुराकानी गर्दै जाँदा मायामा परेको, एक रात बाहिर सँगै बसेपछि आफ्ना श्रीमानले थाहा पाएको र त्यसपछि घरबाट निकालिदिएको बताउँदै पछि प्रदीपले नै आफूलाई कोठा खोजेर राखिदिएको र श्रीमती बनाएको तर अन्तिममा छाडेर गएको बयानमा उल्लेख गरेकी छिन् ।
मैले गुल्मीको पौदी अमराईस्थित ….. माविबाट एसएलसी उत्तीर्ण गरी करिब १३ वर्षअघि काठमाडौं आएर दिदी ….. गुभाजुको कोठामा बस्न थालेँ । दिदीले नेपाली सेनामा कार्यरत ….. सँग मेरो विवाह गरिदिने कुरा गर्नुभयो र बुवा आमाको सल्लाहमा करिब १२ वर्षअघि ….. सँग मेरो विवाह भयो । हामीबाट ११ वर्षको छोरा ….. र ६ वर्षकी छोरी ….. जन्मिए । हाल उनीहरू बुवासँग बस्छन् ।
श्रीमानको जागिरका कारण विभिन्न ठाउँमा सरुवा हुने भएकोले बालुवाटार नजिक कोठा लिएर बस्दै आएका थियौँ । म करिब ४ वर्षदेखि नयाँ बानेश्वरस्थित ….. मा कार्यालय सहायकको काम गर्दै आएकी छु। फेसबुक, टिकटक, ह्वाट्सएप चलाउने क्रममा करिब ४ वर्षअघि प्रदीप अर्याल (परिवर्तित नाम) को फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो, जसलाई मैले स्वीकार गरेँ ।
भोलिपल्ट उनले म्यासेन्जरबाट कल गरी बालुवाटार नजिक राष्ट्र बैंक छेउमा बोलाए । म पुग्दा उनी मोटरसाइकलमा थिए र मलाई चिनेपछि क्याफेमा लगे । करिब २ घण्टा कुराकानी भयो, उनले मेरो पूरा परिचय लिए तर आफ्नो परिचय दिएनन् । भोलिपल्ट पुनः बोलाएर अर्को क्याफेमा लगे । मैले बोलाउनुको कारण सोध्दा उनले मलाई मन पराएको, माया गर्न बोलाएको बताए। मैले मेरो श्रीमान् र छोराछोरी रहेको, उनको पनि विवाह भइसकेकोले गलत काम नगर्न भनेँ तर उनले कसैलाई थाहा नदिई सम्बन्ध अगाडि बढाउन प्रस्ताव गरे । त्यसपछि निरन्तर कुराकानी चल्यो ।

करिब ४ वर्षअघि भदौ २८ गते तीजको दिन उनले बाहिर बास बस्ने गरी घुम्न जान फोन गरे । मैले जान सक्ने नभन्दा पनि उनले धेरै अनुरोध गरेपछि छोराछोरीलाई दिदीको घरमा राखी कालु पाण्डे घुम्न गएँ । त्यहाँ खाना खाई दिउँसो घुमफिर गरेपछि राति उनैले होटेलमा कोठा बुक गरे । राति करिब ९ बजे छोराछोरी, श्रीमान् र दिदीले फोन गरे तर मैले उठाइन । त्यो रात हामी त्यहीँ बस्यौँ ।
‘उनको भैरहवा सरुवा भएपछि मलाई भैरहवाको कार्यालय निवासमा राखे’
भोलिपल्ट बिहान उनले मलाई बालुवाटार नजिक झारेर गए । कोठामा पुग्दा श्रीमान् आइसक्नुभएको थियो । श्रीमानले मेरो मोबाइल हेरेर प्रदीपका म्यासेज देख्नुभयो र सबै सामान प्याक गरी ‘मलाई राख्दिनँ’ भन्दै कोठाबाट निकालिदिनुभयो । त्यसपछि म काका ….. को बसुन्धाराको कोठामा गएर बसेँ । त्यहाँ पनि प्रदीपसँग कुराकानी जारी रह्यो । दसैँमा काकाको घरमा म एक्लै थिएँ, त्यहाँ प्रदीप आएको थाहा पाएर घरबेटीले काका र दिदीलाई खबर गर्नुभयो । दिदी आएर सबै कुरा बुझेर फर्किनुभयो । काका काठमाडौं फर्किएपछि घरबेटीले सबै कुरा भनेपछि काकाले पनि मलाई त्यो कोठामा नबस्न भन्नुभयो । त्यसपछि प्रदीपले कपनमा कोठा खोजिदिए, जहाँ उनी प्रायः बस्थे । करिब ४-५ महिना त्यहाँ बसेपछि बसुन्धारामा अर्को कोठा लिएर करिब १ वर्ष बस्यौँ । पछि उनको भैरहवा सरुवा भएपछि मलाई भैरहवाको कार्यालय निवासमा राखे ।
२०८३ साल वैशाखमा भैरहवामा तरकारी किनेर फर्किँदा उनी कोठामा थिएनन्, मोबाइल स्विच अफ थियो । अरूलाई सोध्दा उनी काठमाडौं आएको थाहा पाएँ । धेरै पटक सम्पर्क गर्दा फोन नलागेपछि रिस र आवेगमा मैले खराब म्यासेज पठाएकी हुँ । २०८३ साउन २७ मा म कलेजमा काम गर्दै गर्दा सादा पोसाकका प्रहरीले मलाई पक्राउ गर्यो ।
‘मैले मागेको पैसा उनकै दायित्वभित्र पर्ने कोठा भाडा र खाना खर्चका लागि हो’
जाहेरीमा उल्लेख भएको २० लाख रुपैयाँ उनले खुसीले दिएको हो, जो मेरो लक्ष्मी सनराइज बैंकको खातामा छ । ७ लाख रुपैयाँ कोठा भाडा, तरकारी, खानालगायत खर्चमा प्रयोग भएको छ, जसमध्ये उनले पनि खाना खाए र कोठामा बसे । सामाजिक सञ्जालमा गालीगलौज गरेको विषयमा मेरो भनाइ के हो भने उनले मलाई श्रीमती बनाउने, राम्रो व्यवस्था गर्ने भने पनि पटक-पटक बेवास्ता गर्थे । म घरपरिवारबाट निष्कासित, आर्थिक अवस्था कमजोर र बच्चाहरूको यादले व्याकुल भएकाले अर्को विकल्प नभएर सामाजिक सञ्जालमा ती कुरा लेखेकी हुँ ।
जाहेरवालाले उजुरीसाथ पेन ड्राइभमा दिएको अडियो सुनेँ । उनले श्रीमती बनाएर कोठा भाडा दिने, राम्रो व्यवहार गर्ने भनेर मेरो श्रीमानसँग सम्बन्ध विच्छेद गराइदिए । तर पछि आफ्नो वाचा पूरा नगरी बेवास्ता गरेकाले रिस उठेर अपशब्द प्रयोग भएको हो । पैसा माग्नुको कारण कोठा भाडा र खानाको खर्च हो । मैले ५० लाख मागेको होइन, रिस र आवेगमा धाक धम्की दिएकी हुँ। मैले मागेको पैसा उनकै दायित्वभित्र पर्ने कोठा भाडा र खाना खर्चका लागि हो ।’
प्रहरी अनुसन्धानका क्रममा कुसुमले २७ लाख रुपैयाँ लगेको स्वीकार गरेकी छिन्, जसमध्ये २० लाख रुपैयाँ बैंककै खातामा रहेको र बाँकी ७ लाख रुपैयाँ खाना तथा अन्य खर्चमा सकिएको बताएकी छिन् । कुसुमले रकम माग गर्दै नदिए मुद्दामा फसाइदिने धम्की दिएको अडियोसमेत अदालतमा पेस गरिएको छ । उनले म्यासेजमा रकम माग गर्ने, गालीगलौज गर्ने तथा प्रदीपका आफन्तहरूसम्मलाई म्यासेज पठाउने कार्य गरेकी थिइन् । यद्यपि, अनुसन्धानका क्रममा उनले ती म्यासेजहरू आवेगमा पठाएको बयान दिएकी छिन् ।
कुसुमले रकम लिएको र माग गरेको विषयमा साविती बयान दिएपछि भदौ २२ गते सोमबार काठमाडौं जिल्ला अदालतमा उनी विरुद्ध आपराधिक लाभ (एक्सटर्सन) तथा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको छ । कुसुम हाल प्रहरी हिरासतमा छिन् ।
यस सम्बन्धमा पीडित दाबी गर्ने एसपी प्रदीपले कुसुमको दाबी अर्धसत्य रहेको बताएका छन् । कालु पाण्डेमा गएर रात बिताएको लगायतका कुरामा असहमति जनाउँदै उनले रकम असुलीका लागि मात्रै यस्तो योजना रचिएको दाबी गरे । प्रतिवादीले आफूसँग रकम माग गरेको म्यासेज तथा अडियो रेकर्ड सुरक्षित रहेको र ती प्रमाणहरू अनुसन्धानका क्रममा उपलब्ध गराएको उनले बताए । साथै, उनले आफ्नो परिचय गोप्य राखिदिन आग्रह गर्दै काम गर्ने स्थान आदि नखुलाइदिन अनुरोध गरे ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले कुसुमले आपराधिक लाभ लिने तथा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर गरेको पुष्टि भएको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ को उपदफा (१) तथा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजायको माग दाबी लिई मुद्दा दर्ता गरेको छ ।
कुसुमलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभको कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ । त्यसै गरी, विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ ।
यस मुद्दामा बुधबार बकपत्र भई थुनछेक प्रयोजनका लागि सुनुवाइ हुनेछ ।