भूमि समस्या समाधानको लागि सरकारले योजनावद्ध रुपमा काम गरिरहेको छः मन्त्री अर्याल

दियो पोस्ट  

 

बर्दिवास, २७ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध रुपमा लागेको बताएकी छिन् ।
महोत्तरीको वर्दिवास नगरपालिका ३ गौरीडाँडामा आयोजित संवाद कार्यक्रममा मन्त्री अर्यालले सरकारले भूमिबारे नीति निर्माण र कानुनसम्बन्धी कामहरु भइरहेको बताएकी छिन् । अव्यवस्थित बोबास व्यवस्थापनसम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जिल्लाका मिथिला नगरपालिका अव्यवस्थित बसोबाीका तर्फबाट स्मरणपत्र समेत ग्रहण गरेकी थिइन् । नीतिनिर्माणको काम सकेर छिट्टै परिणाममुखी कामको लागि सरकार तयार भएको बताउँदै उनले समस्याको चाँडै नै हल निस्कने बताएकी छिन् ।

“सामान्यतया आयोग प्रतिवेदनमुखी बन्दै आएका रहेछन्,” आफ्नो जिम्माको मन्त्रालयका विगतका कामबारे प्रस्ट्याउँदै अर्यालले भनिन्, “अब ठाउँमा पुगेर अव्यवस्थित बसोबासको समुचित सम्बोधनका लागि जग्गाधनी प्रमाण दिने आयोग बनाइनेछ ।”

पर्तिऐलानी जग्गाको अव्यवस्थित बसोबास, मोहीको द्वैध स्वामित्व अन्त्य गर्ने र गुठी जग्गा व्यवस्थापन गर्दै वैज्ञानिक भूमि व्यवस्था नीति अख्तियार गर्नु अहिलेको आवश्यकता रहेको मन्त्री अर्यालको भनाइ छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभाका सांसद जुली महासेठ (महतो) महोत्तरी र धनुषा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले यस भेगका भूमिसम्बन्धी समस्याबारे मन्त्री अर्याललाई अवगत गराएका थिए। बर्दिवासको संवाद कार्यक्रम सकेर मन्त्री अर्यालले आजै महोत्तरीकै गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाको निरीक्षणगरेकी थिइन्।