काठमाडौँ, २७ मङ्सिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशबिन्दु ललितपुरको खोकना र बुङ्गमति क्षेत्रमा देखिएको मुआब्जा विवादबारे स्थानीय जनताका मागलाई अधिकतम सम्बोधन गरेर आयोजना अघि बढाइने बताएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय गौरवका यस्ता आयोजना निर्माण गर्दा र समृद्धिको अभियान सञ्चालन गर्दा स्थानीयवासीका केही गुनासो आउन सक्छन् तर कामलाई अवरोध र विषयलाई जटिल बनाउने गरी प्रस्तुत नहुन आग्रह गरेका हुन् ।
उनले भने , “सो क्षेत्रमा करीब ५० प्रतिशत मुआब्जा वितरण भइसकेको छ, अहिले पनि स्थानीयवासीले मुआब्जा पाउँ भनिरहेका छन् तर कतिपय पक्ष र जनप्रतिनिधिले रोकाएको त होइन भन्ने विषय पनि आएको छ ।” उपप्रधानमन्त्री पोखरेलले मुआब्जासम्बन्धी कानूनतः स्पष्ट मापदण्ड र अख्तियारी रहेको तथा नेपाल सरकारले निर्णय गरेर विधिवत्रुपमा सो मार्ग निर्माण गर्न नेपाली सेनालाई हस्तान्तरण गरिएकाले नयाँनयाँ विवाद झिक्न नहुनेमा जोड दिए ।