विधान संशोधनको विषयलाई लिएर काँग्रेस भित्र विवाद, पौडेलको माग सम्वोधन नगर्ने संस्थापन पक्षको अडान

दियो पोस्ट  

 

काठमाडौँ, पुष २ । नेपाली काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ ।

पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद काँग्रेस भित्र चर्केर गएको हो । सोही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी बैठक पनि विना निष्कर्ष सकिएको छ ।

साँझ केन्द्रिय कार्य समिति बैठकबाट सो विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक विना निष्कर्ष सकिएको हो । पदाधिकारीको संख्या, केन्द्रिय कार्य समितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रिय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । अहिले काँग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन । आज तेस्रो दिन काँग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ ।

काँग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धि प्रतिवेदनमाथि छलफल भईरहेको छ । तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । साँझ ६ बजेपछि बस्ने केन्द्रिय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा काँग्रेस केन्द्रिर्य कार्य समितिमा अझै सहमति जुटन सकेको छैन । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो ।