डिल्लीबजारका मालपोत अधिकृतसहित नौ जना कर्मचारीविरुद्ध अख्तियारको मुद्धा, नक्कली जग्गाधनी बनाएको आरोप

दियो पोस्ट  

काठमाडौँ, पुष ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यलय र मालपोतक कार्यलय झापाका मालपोत अधिकृत नौ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । दुई जिल्लाका कर्मचारी मिलेर एउटाको नाममा रहेको जग्गालाई नक्कली जग्गाधनी खडा गरिएको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो ।

टेकमाया आङहाङ (मावोहाङ) को झापाको दमक नगरपालिका वडा नम्बर ४ मा रहेको १५.१२ आना र साँढे एक रोपनी जग्गालाई कीर्ते जग्गाधनी दर्ता प्रमाणपुर्जी बनाएर फौदराज लिम्बुको नाममा पास गरिएको हो । यसका लागि मालपोत कार्यलय डिल्लीबजारले उक्त जग्गाको लागि बेजिल्ले रेजिस्ट्रेशन पारित गराई मालपोत कार्यलय दमक झापाबाट जग्गा दाखिला खारेज गराउने कार्य गरि फौदराज लिम्बुले आफ्ना नाममा जग्गाधनी दर्ता कायम गराएको आरोपसहित अख्तियारले मुद्धा दायर गरेको हो ।

मालपोत कार्यालयका जिम्मेवार कर्मचारीहरुले नै एक व्यक्तिको जग्गा दाखिला खारेज गरी अर्कैको नाममा हक(हस्तारण गरी व्यक्तिको सम्पत्तिमाथिको अधिकार हननभएको देखिएकोले उक्त लिखत पठाउने, सोको अधारमा दाखिला खारेज गर्ने कार्यमा राष्ट्रसेवक कर्मचारीहरुको मिलेमतोमा टेकमाया आङहाङको नामको उल्लिखित कि.नं. ४८७३ र ४८७५ को नक्कली जग्गाधनी दर्ता प्रमाणपूर्जा, नक्कली राजश्व रसिद र तत्कालीन समयमा कार्यरत पदाधिकारीहरुको नक्कली दस्तखत गरी अमुक व्यक्तिको नाममा नक्कली बेजिल्ले रजिष्ट्रेशन पारितको लिखत बनाई मालपोत कार्यालयमा रहेको लिखत ठेलीमा अनधिकृत रुपमा घुसाएको कसुर पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका ९ जना व्यक्तिहरु उपर छानविन गरि कारवाहीको लागि अख्तियारले मुद्धा दायर गरेको छ ।

अख्तियारले डिल्लीबजार मालपोत कार्यलयका मालपोत अधिकृत केशव प्रसाद न्यौपाने, अर्का अधिकृत राजेन्द्र प्रसाद फँयाल, नायब सुब्बा लक्ष्मण प्रसाद भट्टराई र खरदार विजयभक्त श्रेष्ठविरुद्ध मुद्धा दायर गरेको छ । उनिहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९, ११ र १२ बमोजिम कारवाही गर्न सिफारिस गरिएको छ । त्यस्तै झापाको जिल्ला मालपोत कार्यलय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बा डिल्लीराम कोइराला र जयन्द्रराज कोइरालाविरुद्ध मुद्धा दायर गरेको हो । उनिहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ र सोही ऐनको दफा ११ बमोजिम कारवाही गर्न भनिएको छ । त्यस्तै नक्कली जग्गा धनि वयरवन–९ मोरङका फौदराज लिम्बुमाथि पनि कारवाही सिफारिस गरिएको छ । उनिसहित अधिवक्ता चन्द्रप्रसाद खनालविरुद्ध जनही एक करोड २० लाख विगोसहित मुद्धा दायर गरिएको छ ।