बालुवाटार जग्गाकाण्ड : खर्बपति व्यापारी सुहृद घिमिरेले लुकाए पौडेलको नाममा अकुत जग्गा !

दियोपोस्ट संवाददाता


काठमाडौं, २२ मंसिर । बालुवाटार जग्गा काण्डमा मुछिएका खर्बपति व्यापारी सुहृदराज घिमिरेले बालुवाटारको जग्गा लुकाउन आफ्नै कम्पनिको एक साझेदारलाई प्रयोग गरेको पाइएको छ ।


सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागमा अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका घिमिरेले राजधानीको मुटु मानिने बालुवाटार स्थित बहुचर्चित ललिता निवासको १३ रोपनी सरकारी जग्गा आफ्नी सासुको नाममा हत्याएका थिए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको तत्कालिन ललिता निवास क्षेत्र भित्रको १३ रोपनी जग्गा घिमिरेले आफ्ना सासु नाता पर्ने इन्दु शर्मा र व्यापारिक साझेदार पुरुषोत्तम पौडेलको नाममा राखेको खुलाशा भएको थियो ।


डिल्लीबजार मालपोत कार्यालयको लिखत अनुसार प्रति आना ५० हजारमै खरिद गरिएको देखाइएको उक्त जग्गा घिमिरेले आफ्नी सासु हुँदै व्यापारिक साझेदार भनिएका पुरुषोत्तम पौडेलको नाममा लुकाएको पाइएको हो ।

विवादित व्यापारी तथा बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्त मिन बहादुर गुरुङ, बालुवाटार जग्गाकाण्डमा फरार अभियुक्तहरु रामकुमार सुवेदी र शोभाकान्त ढकालको मिलेमतोमा घिमिरले सासु आमा र व्यापारिक साझेदार पुरुषोत्त्म पौडेलको नाममा ललिता निवासको जग्गा हत्याएका थिए ।
२०६३ मंसिर १३ गते नै घिमिरेकी सासु इन्दु शर्माको नाममा दुई पटक बालुवाटार क्षेत्रको सरकारी जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।

उक्त जग्गा लिखत अनुसार भाटभटेनीका मालिक समेत रहेका मिनबहादुर गुरुङ र कामना गुरुङको संयुक्त नाममा रहेको १२ आना दुई दाम जग्गा घिमिरेकी सासु इन्दु शर्माको नाममा पास भएको देखिन्छ ।


इन्दुको नाममा पास भएको उक्त जग्गाको मुल्य भने ६ लाख २५ हजार रुपैयाँ मात्रै उल्लेख छ । हिसाब गर्दा प्रति आना ५० हजार रुपैयाँ मात्रै पर्न आउँछ ।


राज्यलाई बुझाउनुपर्ने कर छली गर्नकै लागि कम मुल्य गरेर विक्री गरिएको देखिन्छ । उक्त जग्गा राजिनामा पास गरिएको कागजातमा बालुवाटार जग्गा बेचविखनका प्रमुख अभियुक्त मध्येकै रामकुमार सुवेदी र शोभाकान्त ढकाल साक्षी बसेका छन् । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ । यद्धपी हालसम्म उनीहरु फरार नै रहेको अख्तियार स्रोतको भनाई छ । यता अर्का अर्बपति व्यापारी मिनबहादुर गुरुङले प्रत्यक्ष जग्गा किनबेच गरेको भएता पनि पत्रिका मार्फत सुचना सार्वजनिक गरेर बयानमा बोलाइएको छैन ।


बालुवाटार क्षेत्रमा २०६३ सालमा प्रति आना १५ लाख रुपैयाँ भन्दा बढी मुल्य पर्ने जग्गा घिमिरेले भने ५० हजारमै कसरी हत्याए भन्ने विषयमा समेत अख्तियारले छानबीन गर्नुपर्ने देखिन्छ ।

इन्दु शर्माकै नाममा २०६३ मंसिर १३ गते नै अर्को जग्गा राजिनामा पास भएको रेकर्डमा देखिन्छ ।
इन्द्रदेव गुरुङको नामबाट कित्ता नम्बरहरु १९, २०, २१ र २२ का करिब १४ आना २ पैसा १ दाम जग्गा इन्दु शर्माको नाममा पास भएको देखिन्छ । उनले उक्त जग्गा पनि ७ लाख २८ हजार २ सय रुपैयाँमै पाएको देखिन्छ । उक्त लिखतमा पनि भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदी नै साक्षी बसेका छन् ।


२०६३ माघ २५ गते नै इन्दु शर्माको नाममा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङ र उनका छोरा कल्याण गुरुङको नाममा रहेको जग्गा राजिनामा पास भएको छ । लिखत अनुसार गुरुङ परिवारले घिमिरेकी सास इन्दु घिमिरेलाई १३ आना जग्गा ६ लाख ८७ हजार ५ सय रुपैयाँमा विक्री गरेको देखिन्छ ।


इन्दु शर्माकै स्वामित्वमा रहेको अधिकांश जग्गाहरु किनबेच समेत भइरहेको पाइन्छ । रेकर्ड अनुसार व्यापारी घिमिरेकै कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेजका साझेदार समेत रहेका पुरुषोत्तम पौडेलको नाममा जग्गा राजिनामा पास भएको छ । साझेदार भनिएका पौडेलको कम्पनि रजिष्टार कार्यालयको रेकर्डमा भने साक्षीको रुपमा देखिएको छ ।

२०६३ साल मंसिर १३ गते नै इन्दु शर्माको नाममा रहेको कित्ता नम्बरहरु ९२,९५, ९६ र ९७ का १ रोपनी आठ आना जग्गा कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज व्यापारिक साझेदार पुरुषोत्तम पौड्याललाई विक्री गरेको रेकर्डमा देखिन्छ । उक्त जग्गा भने एक लाख २५ हजार प्रति आनाका दरले कुल ३० लाख रुपैयाँमा विक्री गरिएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि सुचना प्रकाशित गरेरै घमिरेकी सासु इन्दु शर्मालाई बयानका लागि बोलाएको थियो । अख्तियारले केही महिना अघि बयानका लागि घिमिरेका साझेदार पौडेललाई समेत बोलाएको थियो ।

अहिले ललितानिवास परिसरमा यन्दु शर्माकै नाममा करिब ३ रोपनी जग्गा रहेको छ । हाल इन्दुको नाममा ललितानिवासभित्र कित्ता नम्बर ७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ९ वटा कित्ता जग्गा रहेको छ । यी सबै जग्गाको क्षेत्रफल जोड्दा करिब ४२ आना जग्गा इन्दु शर्माकै नाममा रहेको छ ।

बाँकी जग्गा भने घिमिरेले ससुरा तिर्थराज शर्माको नाममा पनि राखेको बताइन्छ ।
बालुवाटार क्षेत्रको १३ रोपनी जग्गालाई हालको बजार भाउ अनुसार डेढ अर्ब भन्दा बढी पर्छ । घिमिरेको विषयमा सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत छानबीन गरिरहेको छ ।

यद्धपी सम्पत्ति सुद्धिकरण विभागले घिमिरेमाथिको अकुत सम्पत्ति मुद्दाको छानबीनमा आलटाल गरेको भन्दै विभाग विरुद्ध नै उजुरी परिसकेको छ । राजधानीको बालाजु क्षेत्रमा करिब १२ रोपनी सरकारी जग्गा कौडीको भाउमा हत्याएर सरकारलाई भाडा तिर्न भने अस्विकार गर्दै आएका घिमिरेले कोमात्सु नामको डोजर विक्री गर्दै आएका छन् । उक्त डोजर विक्रीमा समेत अर्बौं रुपैयाँको भ्याट छली गरेको उनीमाथि आरोप छ ।


को हुन् पौडेल ?


कन्टिेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा.ली कम्पनि रजिष्टारको कार्यालयमा एक दशकअघि दर्ता भएको कम्पनि हो । कुल २ करोड चुक्ता पुँजी राखेर शुरु भएको यो कम्पनि भन्सार छली गरेर नेपालमा स्क्याभेटर डोजर लगायत हेवि इक्वीपमेन्ट बेचविखन गर्दै आएको छ । उक्त कम्पनिको २०६६ साल चैत्र १२ गतेको बैठकमा सहभागीको रुपमा पौडेलको नाम उल्लेख छ । उनै पौडेललाई बालुवाटारको जग्गा पास गरिएको हो ।

पौडेलकै नाममा घिमिरले विदेशमा समेत अकुत सम्पति लुकाएको आरोप छ । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संगठन आइसिआइजेले सार्वजनिक गरेको विवरणमा घिमिरेले पौडेलको नाममा ट्याक्स हेभन राष्ट्र भनिएको ब्रिटिस भर्जिन आयरल्याण्ड सिंगापुरमा अकुत सम्पत्ति लुकाएको खुलाशा गरेको थियो ।
इको बे नामक कम्पनि मार्फत अकुत सम्पत्ति लुकाएको आरोप घिमिरे र पौडेलमाथि छ ।