
काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको वर्तमान शैक्षिक प्रणालीले बेरोजगार उत्पादन गरेको बताएका छन् । चन्द्रगीरि नगरपालिका वडा नम्बर १ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रविधिमैत्री व्यवसायिक शिक्षाको व्यवस्था नभएको कारण शिक्षाले नै बेरोजगार उत्पादन गरिरहेको बताए ।
अध्यक्ष दाहालले सरकारले लिएको समृद्धीको लक्ष्य पुरा हुनका लागि प्रविधिमैत्री व्यवसायिक शिक्षाको विकास गर्नुपर्ने बताए । शैक्षिक क्षेत्रको विकासबिना विकास र समृद्धीका कल्पना गर्न नसकिने बताउँदै वर्तमान सरकारले पनि त्यस तर्फ ध्यान केन्द्रित गर्दै सकारात्मक कदमको थालनी गरिरहेको बताए ।
प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजनासहित सरकारले व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागेको अध्यक्ष प्रचण्डले बताए । उनले सामुदायिक विद्यालयमा प्राविधिक र व्यवसायीक शिक्षा उपलब्ध भएपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए
‘संसारको विकसित राष्ट्रको रुपमा युरोपलाई लिने गरिन्छ, आज पनि ती देशको पहिलो प्राथमिकता शिक्षा नै रहेको पाइन्छ’, उनले भने, ‘हाम्रो जस्तो विकासोन्मुख देशको पहिलो खुड्किलो शिक्षा नै रहेकोले जबसम्म शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गरिदैन, शिक्षाको गुणस्तरमा सुधार ल्याइँदैन र शिक्षामा प्रयाप्त बजेट विनियोजन गरिदैन तबसम्म शिक्षा र देशको विकासले काँचुली फेर्न सक्दैन ।’
अध्यक्ष दाहालले चन्द्रागिरि नगरपालिका ऐतिहासिक, सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले भरिपुर्ण हुँदापनि ओझेलमा परेकोले आफु दुखी रहेको बताए । उनले चन्द्रागिरी नगरपालिकालाई बत्ति मुनिको अध्याँरोको रुपमा रहेको समेत बताए । चन्द्रागिरीको विकासको लागि सरकारले पनि काम गरिरहेको बताउँदै अध्यक्ष दाहालले आफ्नो तर्फबाट समेत हुनसक्ने पहल हरु गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अधिवक्ता शशि कुमार गिरिले विद्यालयमा आवश्यक पर्ने भौतिक पुर्वाधार विकासमा आफु प्रतिवद्ध रहेको बताए । उनले शैक्षिक गुणस्तर वृद्धीका लागि समेत आफुहरुले अहोरात्र काम गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, अञ्जना विसंखे, अमृत थापामगर, विना श्रेष्ठ, संविधानसभा सभासद् रुपा महर्जन, प्रदेश सांसद, केशव पोखरेल, रमा आलेमगर, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख लिशा नकर्मी, वडा अध्यक्षहरु, विद्यालयका अध्यक्ष शशी गिरी, हास्यकलाकार दीपकराज गिरीलगायतको उपस्थिति रहेको थियो ।