चन्द्रागिरि नगरपालिका कार्यलयमा ताला लगाउन पुगेका स्थानीय र प्रहरीबिच झडप (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष ३ । इट्टा भट्टाले स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै चन्द्रागिरि नगरपालिकाका स्थानीयहरु आन्दोलित भएका छन् । नगर क्षेत्रमा भएका १४ वटा इँट्टाभट्टा र त्यसबाट निस्किएको विषालु धुवाँले वातावरणमा नकारात्मक असर पारेको भन्दै उद्योगलाई हटाउनका लागि २०७२ सालदेखि आन्दोलित बनेका छन् ।

स्थानीयको मागको सुनुवाई नभएको भन्दै बिहीबार नाराबाजी सहित चन्द्रागिरि नगरपालिकाको कार्यलय पुगेका स्थानीयहरुले नगरपालिकाको कार्यलयमा ताला लगाउने प्रयास गरेका छन् । ताला लगाउन खोज्दा प्रहरीले बल प्रयोग गरेपछि स्थानीय र प्रहरीबिच झडप समेत भएको छ । स्थानीयले नगरपालिकाको तीनमध्ये एउटा भवनमा भने ताला लगाएका छन् ।

नगरपालिकाले आफैले गरेको निर्णय कार्यान्वयन नगरी जनचाहनाविपरित इँट्टाभट्टा हटाउन नहुने भन्दै आफ्नो आधिकारिक धारणा निकालेपछि स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा धरपकडको स्थिति सिर्जना भएको हो । धरपकडमा प्रहरीले महिलामाथि हातपात गरेको र शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजेको भन्दै प्रहरी र नगरपालिकाविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

संघर्ष समितिका अध्यक्ष मुकुन्दप्रसाद घिमिरेले नगरपालिकाले आफैले गरेको निर्णय कार्यान्वयन नगरी जनचाहनाविपरित निर्णय गरेपछि त्यसको प्रतिकारमा उत्रन बाध्य पारिएको बताए । उनले यो कुनै राजनीतिक दलको आन्दोलन नभई विशुद्ध जनताको आन्दोलन भएको समेत बताएका छन् ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका केही वडा अध्यक्षहरुले पनि यो आन्दोलनमा आफ्नो साथ र समर्थन रहेको बताएका छन् । आफुहरुलाई जनताले जिताएको र जनताको जायज मागमा आफुहरु अग्रपंक्तिमा उभिएर हातेमालो गर्दै अघि बढ्ने पनि विश्वास दिलाए ।

गएको मंगलबार उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दाले २०७२ सालदेखि हटाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका छन् ।

सम्बन्धित खबर